खानेपानीको गुणस्तर सुनिश्चितताका लागि पानी परिक्षण शिविर सञ्चालन

  वास खबर सम्बाददाता  427 पटक हेरिएको
🔗
62
Shares

दैलेख : दैलेखको भगवतीमाई गाउँपालिकाको वडा – वडामा पानी परिक्षण शिविर सन्चालन भईरहेको छ । सवैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता आयोजना बेस्तडा दैलेखको आयोजनामा पालिका भर सन्चालनमा रहेको खानेपानी योजनाहरुको गुणस्तर पहिचानका लागि पानी परिक्षण शिविर सन्चालन गरिएको हो । यही पुस २ गते देखि सुरुवात गरिएको परिक्षण शिविर ९ गते सम्म सन्चालन हुनेछ ।

पानीकै कारण समुदाय स्तरमा रोग फैलिन नदिन र सुरक्षित पानी पिउन उपभोक्त्ताहरुलाई सचेतना गराउन यो शिविर निकै महत्वपुर्ण हुने गाउँपालिका अध्यक्ष गणेश बहादुर थापाले वताउनुभयो।

पानी परिक्षण शिविरबाट प्राप्त परीक्षण रिपोर्टलाइ नेपाल सरकारको N-WASH MIS मा प्रबिस्ट गरिने व्यबस्था मिलाइएको छ त्यसका लागि सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता आयोजना (सुस्वा) ले यस अघि पालिकाको वास युनिटका कर्मचारीलाई तालिम दिइसकेको छ । सुस्वा आयोजनाले यसैगरी विभिन्न कार्यरत पालिकाहरुमा पनि पानी परिक्षण शिविरलाइ सहज र सर्बसुलभ गराउन पौष र माघ महिनामा पहिलो लटको शिबिर संचालन गर्ने पालिकाहरुमा शिबिर संचालनको निरन्तर अनुगमन र आवस्यक प्राबिधिक पृष्ठपोषण गर्ने कार्य योजना रहेको सुस्वा, आयोजना सहयोग इकाईका प्रतिनिधिले जानकारी गराउनु भयो ।

समुदाय, सामुदायिक विद्यालय, सार्वजनिक संस्थाहरुले उपभोग गर्दे आएका खानेपानी योजनाहरुवाट प्रयोग गर्दै आएको खानेपानी गुणस्तर पहिचान शिविर गाउँपालिका वास ईकाइले पहिलो पटक वडा वडा मा गएर परिक्षण सन्चालन गरेको हो । स्थानिय स्तरमा ईन्फो किट र वाक टेक प्राविधिवाट ईकोली, टोटल कोलिफम, रंग, तापक्रम, तापक्रम, धमिलोपन, ई.सी., पि.एच., आईरन, फसफोरस, टोटल क्लोराईट, एमोनिया, ड्राइनेस, र पि.ए. भाईल परिक्षण गरी आधारभुत स्तरको पानी परिक्षण गरिएको छ । सेवा लिन आउने उपभोक्त्ताहरुलाई निशुल्क प्रदान गरेको गाउँपालिका खानेपानी तथा सरसफाइ प्राविधिक शेर बहादुर विष्टले जानकारी दिनुभयो।

७ वटा वडा रहेको भगवतीमाई गाउँपालिकामा हाल सम्म ६२ खानेपानी योजनाहरु जलस्रोत समितिमा दर्ता भएर सेवा सुचारु अवस्थामा रहेका छन । हरेक वडाहरुमा रहेको यी खानेपानी योजनाहरुको फिल्ड स्तरमै पानी परिक्षण र रिपोर्ट तयार गर्न नजिकै रहेको स्वास्थ्य संस्था र वडा कार्यालयहरुको सहयोगमा पानी परिक्षण शिविर सन्चालन गरिएको हो।

खानेपानी परिक्षण पश्चात तथ्यांकका आधारमा देखिने अवस्थालाई मध्य नजर गर्दै जोखिम देखिएका खानेपानी योजना क्षेत्रहरुमा तत्कालै सुधार कार्यका लागि खानेपानी सुरक्षा योजना अनुसार कामहरु सन्चालन गरिनेछ । उपभोक्त्ता समितिहरुवाट सुरक्षित र गुणस्तरीय सेवा समुदायमा सेवा प्रदान गर्न सुस्वा आयोजनाले उपभोक्त्ता समिति पदाधिकारीहरुलाई विभिन्न क्षमता विकासका क्रियाकलापहरु सन्चालन गर्दै आईरहेको छ ।

विगत दुई दशक यता नेपालमा खानेपानीको पहुँचमा उल्लेखनीय सुधार भएको छ । दैनिक जीवनमा प्रयोग हुने पानीलाई सुरक्षित राख्न सकेमा मात्र मानव स्वास्थ्यमा हुने पानीजन्य रोगहरुको संक्रमणमा कमी ल्याउन सकिन्छ । संयुक्त राष्ट्र संघको पर्यावरण तथा विकास सम्बन्धी सम्मेलनमा बताइए अनुसार विकासोन्मुख देशहरुमा ८० प्रतिशत रोगहरु तथा एक तिहाई मृत्युको कारण प्रदूषित पानीबाट हुने गरेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार