पर्वत : लामो समयदेखि पानी नपर्दा पर्वतको विहादी गाउँपालिका ५ भतेरपाटामा खानेपानीको हाहाकार भएको छ ।
वर्षायाममा संकलन गरिएको पानी समेत घैटामा सकिएपछि दक्षिण पर्वतको विहादी गाउँपालिका–५ मा खानेपानीको हाहाकार भएको हो । नजिकमा खानेपानीको कुनै स्रोत नहुँदा काकाकुलको नियति भोगिरहेका दक्षिण पर्वतको विहादी गाउँपालिका–५ उराम पोखरास्थित भतेरपाटावासी घैटामा पानी सकिएपछि दिनभरि पानीको जोहो गर्न व्यस्त हुने गरेका छन् । उनीहरूले विगत एक दशकदेखि घैंटाको पानीको भरमा गुजारा चलाउँदै आएका थिए ।
वर्षातको समयमा संकलन गरेर राखेको पानी पिउन बाध्य उनीहरू त्यही पानी पनि सुकेपछि बस्ती नै सार्नुपर्ने अवस्थामा छन् । एक दशकअघि फिनिडा र नेवा नामक संस्थाले गाउँका ७० घरमा खानेपानी संकलन गर्ने घैंटा निर्माण गरिदिएपछि स्थानीय बासिन्दालाई राहत मिलेको थियो ।
बर्षातको समयमा गाउँनजिकै मूल फुट्ने भएकाले पानीको समस्या नभएपनि हिउँदको समयमा भने संकट भोग्नुपर्ने अवस्था छ । वर्षायाममा घैंटोमा संकलन गरेको पानी हिउँदमा सकिएपछि स्थानीय २ घन्टा टाढा रहेको कुवामा गएर पानी ल्याउन बाध्य छन् । वर्षा नहुँदा वर्षायाममा संकलन गरेको पानी सकिएपछि खानेपानीको समस्या भएको रामचन्द्र भुसालले बताउनुभयो ।
गाउँलेहरू गाउँदेखि २ घन्टा टाढा रहेको ठूलोपँधेरो र कालो ओढारमा गएर पनि पानी ल्याउने गरेका खबर कारोबार दैनिकले छापेको छ । संस्थाले जस्ताको छाना भएको घरमा ६ हजार लिटर बराबर र खरको छाना भएको घरमा ४ हजार लिटर बराबरका घैंटो निर्माण गरिदिएको थियो । खरको छाना भएकालाई आधा दर्जन जस्ता समेत उपलब्ध गराएको थियो ।
वर्षातको पानी संकलन गर्ने र वर्षा नहुँदाको समयमा त्यही पानीले काम चलाउने गरेका थियौं तर अहिले सुके निकै समस्यामा छौं’ नरबहादुर थापाले भन्नुभयो । गाउँमा खानेपानी योजना निर्माण गरिदिन पटकपटक विभिन्न संस्थामा अनुरोध गरे पनि कुनै सुनुवाइ नभएको थापाले बताउनुभयो । “केही वर्ष अघिसम्म भोक्सिङदेखि ल्याएको खानेपानी योजना मर्मत सम्भारको अभावमा जीर्ण बनेपछि गाउँलेहरूले पानीको समस्या भोग्नु परेको हो ।” उहाँले भन्नुभयो ।
बस्तीभन्दा केही तल सानासाना मूल र खोला भएकाले लिफ्टिङ सिस्टमबाट पानी ल्याउन सकिने स्थानीयवासी बताउँछन् । उनीहरूले उक्त सिस्टमको योजना पारिदिन विभिन्न निकायसँग मागसमेत गरेका छन् ।


872 पटक हेरिएको 

