सोलार लिफ्ट मार्फत ३२७ घर परिवारमा खानेपानी सुविधा

  वास खबर समाचारदाता  337 पटक हेरिएको

रेसुङ्गा : गुल्मी दरबार गाउँपालिका–१ बलिथुमका ८० वर्षीय छविलाल रजाली घरकै धारामा पानी झरेपछि निकै खुसी हुनुहुन्छ। डेढ–दुई घण्टा खोला र खोल्सा धाएर पानी ल्याउनुपरेका दिनहरूका अनुभव उहाँसँग आज पनि ताजा छन्।

२०३८/०३९ सालदेखि रेसुङ्गाको पानी गाउँमा पुगे पनि सबैका लागि पर्याप्त थिएन। गर्मीको समयमा मुहान सुक्दा खानेपानीको अभाव झेल्नुपर्थ्यो। अहिले भने दिनमा दुई पटक पानी आउने गरेको छ। सोलार लिफ्ट मार्फत घरआँगनमै खानेपानी झरेपछि रजाली सहित स्थानीय बासिन्दाको खुसीको सीमा छैन।

रहखोला–देविस्थान सोलार लिफ्टिङ खानेपानी योजना लुम्बिनी प्रदेश सरकार, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, ग्रामीण प्रविधि केन्द्र, गाउँपालिका तथा स्थानीयको जनश्रमदानमार्फत कुल १ करोड ९७ लाख ५७ हजार रुपैयाँको लागतमा सम्पन्न भएको हो।

यस योजनाबाट ३२७ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन्। खानेपानी योजनाको उद्घाटन लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले गर्नुभएको हो। सातवटा निकायको आर्थिक सहयोगमा बलिथुमका अधिकांश घरधुरीमा खानेपानी पुर्‍याउन सफल भएको गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोज थापाले जानकारी दिनुभयो।

८ हजार ५०७ घरधुरीमा सेवा पुग्न बाँकी

जिल्ला समन्वय समिति गुल्मीको प्रतिवेदनअनुसार जिल्लाका ५७ हजारभन्दा बढी घरधुरीमा खानेपानीको पहुँच पुगेको छ। रेसुङ्गा र छत्रकोट गाउँपालिकाका सबै घरधुरीमा खानेपानी सुविधा पुगेको छ। रेसुङ्गा नगरपालिकाका ९ हजार १५ र छत्रकोट गाउँपालिकाका ५ हजार ३९७ घरधुरीमा खानेपानी सेवा उपलब्ध छ।

मुसिकोट नगरपालिकाका ७ हजार ९९ घरधुरीमध्ये ५ हजार ५२७ घरमा खानेपानी पुगेको छ भने अझै १ हजार ५७२ घरधुरीमा सुविधा पुग्न बाँकी छ। चन्द्रकोट गाउँपालिकाका ५ हजार ४९ घरमध्ये ४ हजार ९८० घरधुरीमा खानेपानी सेवा पुगेको छ।

मदाने गाउँपालिकाका ५ हजार २५३ घरधुरीमध्ये ३ हजार ६६७ घरमा मात्र खानेपानी पुगेको छ। त्यहाँ अझै १ हजार ५८६ घरधुरी खानेपानीको पहुँचबाट वञ्चित छन्। सत्यवती गाउँपालिकामा ५ हजार १६९ मध्ये ३ हजार ६५२, कालीगण्डकी गाउँपालिकामा ३ हजार ५५७ मध्ये २ हजार ९५७ र इस्मा गाउँपालिकामा ५ हजार ९९ घरधुरीमध्ये ३ हजार ९८७ घरमा खानेपानी सुविधा पुगेको जिल्ला समन्वय समिति गुल्मीकी शाखा अधिकृत सृजना मिश्रले जानकारी दिनुभयो।

त्यसैगरी धुर्कोट गाउँपालिकामा ५ हजार ३८२ मध्ये ४ हजार ९४५, मालिका गाउँपालिकामा ५ हजार २४१ मध्ये ४ हजार ५५४ र रुरुक्षेत्र गाउँपालिकामा ४ हजार २२७ मध्ये ३ हजार ६७५ घरधुरीमा खानेपानी सेवा पुगेको छ। गुल्मीदरबार गाउँपालिकाका ५ हजार २५३ घरधुरीमध्ये ५ हजार १३० घरमा खानेपानी सुविधा उपलब्ध छ।

जिल्लाभर अझै ८ हजार ५०७ घरधुरीमा खानेपानी सेवा पुग्न बाँकी रहेको जिल्ला समन्वय समितिले जनाएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार