
अर्घाखाँची : मधुलेख गाउँ छिर्दा पहिलो नजरमै देखिन्छ, चिटिक्क परेका तर बन्दजस्तै घरहरू र सुनसान बाटो। गाउँ हेर्दा सुन्दर लाग्छ, तर केहीबेर बस्दा यहाँको वास्तविकता आफैँ बोल्न थाल्छ। यो गाउँको सबैभन्दा ठूलो समस्या पानी हो।
पाणिनि गाउँपालिका–८ अन्तर्गत पर्ने मधुलेखमा आजभन्दा करिब छ वर्षअघि झन्डै ७० घरपरिवार बसोबास गर्थे। अहिले गाउँमा मुस्किलले २५ घरपरिवार मात्र छन्। बाँकी परिवार पानीकै कारण गाउँ छाडेर तराई र अन्य ठाउँतर्फ सरेको स्थानीय बताउँछन्।
स्थानीय विवेक पन्थीले पानीको दुःख सम्झँदा लामो सास फेर्छन्। “गाउँ राम्रो छ, खेती गर्न मिल्ने जमिन छ,” उनी भन्छन्, “तर पिउने पानी नहुँदा यहाँ बस्नै सकिँदैन। आज पनि पानीका लागि डोको र गाग्री बोकेर टाढासम्म जानुपर्छ। एक/दुई गाग्री पानी ल्याउन घण्टौं बित्छ।”
पाणिनि गाउँपालिकाको केन्द्र दुर्गाफाँटबाट करिब एक घण्टाको पैदल दूरीमा पर्ने यो गाउँमा मोटरबाटो पुगेको छ। बिजुली पनि छ। पहिले चिदिका गाविसमा पर्ने मधुलेख अहिले पालिकामा समेटिएको छ। बाटो र बत्ती भए पनि पानी नहुँदा गाउँका मानिस टिक्न सकेका छैनन्।
पानीकै कारण गाउँका युवाहरू पहिल्यै बाहिरिइसकेका छन्। अहिले गाउँमा वृद्धवृद्धा र केही महिलाहरू मात्र भेटिन्छन्। स्थानीय कृष्णप्रसाद पन्थी भन्छन्, “चुनावताका नेताहरू आएर पानी ल्याइदिने भन्छन्। तर चुनाव सकिएपछि कोही फर्केर हेर्दैन। पानी नपाएर मानिसहरू एकपछि अर्को गर्दै गाउँ छाड्दै गए।”
मानिसहरू गएपछि खेतबारी पनि खाली हुन थालेका छन्। पहिला अन्न फल्ने जमिनमा अहिले झाडी उम्रिन थालेको छ। मधुलेखको यो अवस्था अर्घाखाँचीका धेरै गाउँसँग मिल्दोजुल्दो छ।
कृषि विकास कार्यालय, अर्घाखाँचीका अनुसार ३० वर्षअघि जिल्लामा ४५ हजार ७ सय १२ हेक्टर जमिनमा खेती हुन्थ्यो। २०७० सालसम्म आइपुग्दा यो क्षेत्रफल घटेर २८ हजार ६ सय ९ हेक्टरमा झरेको थियो। कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेका अनुसार अहिले जिल्लामा २१ हजार २ सय ४७ हेक्टर जमिनमा मात्र खेती भइरहेको छ। पछिल्लो एक दशकमा ७ हजार ३ सय ६२ हेक्टर खेतीयोग्य जमिन बाँझिएको छ।
नेपाल सरकार गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको तथ्यांकले पनि बसाइँसराइको अवस्था गम्भीर रहेको देखाउँछ। पछिल्ला पाँच वर्षमा अर्घाखाँचीबाट ५ हजार ८२ घरपरिवार बसाइँ सरेका छन्। औसत पाँच जनाको हिसाबले हेर्दा करिब २५ हजार मानिसले जिल्ला छाडिसकेका छन्।
जनसंख्या पनि घट्दै गएको छ। २०६८ सालको जनगणनामा अर्घाखाँचीको जनसंख्या १ लाख ९७ हजार ६ सय ३२ थियो। २०७८ सालको जनगणनामा यो संख्या घटेर १ लाख ७७ हजार ८६ मा झरेको छ।
मधुलेखका खाली घर, बाँझा खेत र सुनसान बाटोले एउटै प्रश्न उठाउँछन्, खानेपानीको स्थायी समाधान कहिले हुन्छ ? स्थानीयहरू भन्छन्, पानीको समस्या समाधान भए मधुलेख फेरि बस्तीले भरिन सक्थ्यो। अहिले भने पानीकै कारण गाउँ दिनप्रतिदिन रित्तिँदै गएको छ।


212 पटक हेरिएको 

