खानेपानी मन्त्री परियारले चौथो दिनमै चलाए सरुवाको डण्डा, मन्त्रालय र मातहतको निकायमा व्यापक हेरफेर

  वास खबर सम्बाददाता  2139 पटक हेरिएको


काठमाडौ : खानेपानी मन्त्रालय र मातहतका निकायका कर्मचारीहरुको व्यापक सरुवा गरिएको छ । खानेपानी मन्त्रालयको जिम्मेवारी पाएको चौथो दिनमै मन्त्री मदन परियारले कर्मचारीहरुको व्यापक हेरफेर गर्नुभएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्री डा.मदन परियारलाई गत आइतबार मात्र खानेपानी मन्त्रालयको जिम्मेवारी दिईएको थियो । मन्त्री परियारले सोमबार मन्त्रालयमा पदबहाली गर्नुभएको थियो।

मन्त्रालय स्रोतका अनुसार खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक ई.नारायण प्रसाद आचार्यलाई खानेपानी तथा ढल व्यवस्थापन कार्यालय पोखरा सरुवा गरिएको छ । यस्तै आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) का आयोजना निर्देशक लक्ष्मी प्रसाद उपाध्यायलाई खानेपानी तथा ढल व्यवस्थापन विभागको उपमहानिर्देशकमा सरुवा गरिएको छ ।

मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक जगरनाथ दासलाई भने खानेपानी तथा ढल व्यवस्थापन कार्यालय नेपालगन्ज सरुवा गरिएको छ । केन्द्रीय खानेपानी आयोजनाका आयोजना निर्देशक उज्जवल प्रजापतिलाई खानेपानी तथा ढल व्यवस्थापन कार्यालय विराटनगर पठाईएको छ।

मन्त्रालय स्रोतका अनुसार खानेपानी मन्त्रालयको योजना महाशाखाका सहसचिव बाल मुकुन्द श्रेष्ठलाई मेलम्ची खानेपानी आयोजनाको कार्यकारी निर्देशकमा सरुवा गरिएको छ ।महाशाखा प्रमुखको जिम्मेवारी मन्त्रालयकै सहसचिव रमाकान्त दुवाडीलाई दिईएको छ। आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) मा भने जलवायु खानेपानी तथा सरसफाइ आयोजनाका आयोजना निर्देशक टिका चौधरीलाई ल्याईएको छ ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार