
सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर उपत्यकामा खानेपानी आपूर्ति गर्न निर्माणाधीन भेरी पम्पिङ आयोजनाको १३ प्रतिशत भौतिक प्रगति भएको छ । गत वर्ष भदौ देखि निर्माण सुरु भएको आयोजनाको हालसम्म १३ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।
आयोजनाको दुई चरणमा काम हुँदैछ । पहिलो चरण प्याकेज-१ अन्तर्गत ३ वटा मुख्य रिजर्भ ट्यांकी निर्माण, मुख्य पाइप लाइन, लिफ्टिङका लागि संरचना तयार गर्ने गरी ठेक्का लगाइएको छ ।
पहिलो चरणमा अमृत डाँडामा ३०/३० लाख क्षमताका तीन वटा गरी ९० लाख लिटर क्षमताको ट्यांकी निर्माण गर्ने योजना छ । ट्यांकी निर्माण कार्य सुरु भएको छ । यस्तै पहिलो चरणमै भेरीबाट पानी पम्पिङका लागि संरचना, भाङ्गारीमा पानी शुद्धीकरण प्लान्ट, र त्यहाँबाट ७ किलो मिटर पाइपलाइनबाट अमृत डाँडामा निर्माण हुने मुख्य ट्यांकीमा पानी पुर्याउने योजना छ ।
पहिलो चरणको काम अन्तर्गत मुख्य प्रसारण लाइनमा पर्ने रुख कटानसँगै अमृत डाँडामा तीनवटा मुख्य ट्यांकी निर्माणको काम सुरु भएको आयोजनाका इन्जिनियर ईश्वरी ढकालले जानकारी दिनुभयो। यस्तै मुख्य प्रसारण लाइन अन्तर्गत पाइपलाइन विछ्याउने काम भइरहेको ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म १२ किलोमिटर पाइप लाइन विस्तार सम्पन्न भएको छ ।
आयोजनाको परामर्शदाता प्रमुख रमेश अधिकारीका अनुसार आयोजना कार्यान्वयन हुने क्षेत्रमा पर्ने चार सामुदायिक वनमध्ये दुई वटामा रुख कटानको काम सम्पन्न भएको छ । बाँकी दुईवटामा पनि रुख कटानको जारी छ । उहाँका अनुसार यी सामुदायिक वनमा सात किलोमिटर पाइप लाइनका लागि अबको केही दिनमा रुख कटानको काम सम्पन्न हुनेछ । रुख कटानको काम सम्पन्न भएपछि आयोजनाको मुहान क्षेत्रमा इन्टेक र पानी शुद्धीकरण गरिने क्षेत्रमा संरचना निर्माणको काम सुरु हुने अधिकारीले बताउनुभयो।
२०८१ भदौ १३ गते खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना वीरेन्द्रनगर आयोजना इकाई कार्यालय सुर्खेत र निर्माण व्यवसायी बीच सम्झौता भई आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको थियो । प्याकेज–१ निर्माणको जिम्मा चिनियाँ कम्पनी सिञ्ज्याङ टम्र्स इन्टरनेसनल इकोनोमी एण्ड टेक्निकल को-अपरेसन कम्पनीले लिएको छ । आगामी तीन वर्षभित्र भेरीको पानी वीरेन्द्रनगरमा ल्याउने गरी निर्माण कम्पनीसँग ३ अर्ब ५० करोड लागतमा सम्झौता भई काम भइरहेको छ ।
वीरेन्द्रनगरमा आगामी २५ वर्ष ९सन् २०५०० सम्म वृद्धि हुन सक्ने जनसंख्यालाई दीर्घकालीन खानेपानीको सहज आपूर्ति गर्ने लक्ष्यका साथ आयोजना अगाडि बढिरहेको नगर प्रमुख मोहनमाय ढकालले बताउनुभयो। आयोजनाका लागि नीतिगत तथा कानुनी हिसाबले कुनै पनि बाधा नरहेकाले समयमै सम्पन्न हुने नगर प्रमुख ढकालको विश्वास छ ।
यस्तै आयोजनाको दोस्रो प्याकेज पनि अघि बढाइएको छ । प्याकेज-२ का संरचना निर्माण गर्न अन्तर्राष्ट्रिय सिलबन्दी बोलपत्र आह्वान भएको छ । खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना वीरेन्द्रनगर आयोजना इकाई कार्यालयले प्याकेज–२ का लागि ग्लोबल टेण्डर गरेको हो ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बासकोटाले अन्तर्राष्ट्रिय प्रतिष्पर्धात्मक खरिद विधिबाट सिलबन्दी बोलपत्र मार्फत निर्माण कम्पनी छनोट प्रक्रिया अघि बढेको बताउनुभयो । उहाँका अनुसार प्याकेज–२ अन्तर्गत खानेपानी वितरण लाइनको काम हुनेछ ।
झण्डै ८०० किलोमिटर लम्बाइको पानी वितरण गरिने पाइप सञ्जाल निर्माण, झुप्रास्थित अहिले भइरहेको खानेपानी शुद्धीकरण प्रणालीको स्तरोन्नति, झुप्रा, खरिखोला, बोरिखोला तथा इत्रामस्थित इन्टेकको स्तरोन्नति, झुप्रा, खरिखोला–बोरिखोला तथा इत्रामबाट ट्रान्समिसन जडानका काम छन् । यस्तै, इत्राम क्षेत्रमा १ हजार ५०० घनमिटर क्षमताको ट्यांकी निर्माण र स्वचालन तथा डाटा संकलन प्रणाली जडान पनि प्याकेज–२ अन्तर्गत पर्दछन् ।


276 पटक हेरिएको 

