
हाम्रो घर वरिपरि सडक सफा छ, ढल बगिरहेको छ, फोहोर समयमै उठाइएको छ भने त्यसको पछाडि बिहानैदेखि खटिने सरसफाइकर्मीको श्रम लुकेको हुन्छ । तर यो श्रम जति आवश्यक छ, त्यत्तिकै जोखिमपूर्ण पनि छ ।
सरसफाइकर्मीहरू दैनिक रूपमा फोहोरमैला, ढल, रसायन, धारिला वस्तु, जैविक फोहोर र रोगजन्य किटाणुसँग प्रत्यक्ष सम्पर्कमा हुन्छन् । यस्ता अवस्थामा यदि पेशागत तथा स्वास्थ्य सुरक्षाका विधिहरू पालना गरिएनन् भने उनीहरूको जीवन र स्वास्थ्य गम्भीर जोखिममा पर्न सक्छ ।
सरसफाइकर्मीले काम गर्दा सबैभन्दा पहिला आफ्नो शरीरलाई सुरक्षित बनाउने आधारभूत अभ्यासमा ध्यान दिनुपर्छ । काम सुरु गर्नु अघि सुरक्षात्मक पोसाक जस्तै पञ्जा, मास्क, बुट, एप्रोन लगाउनु अनिवार्य हुनुपर्छ । यी सामग्री औपचारिकताका लागि होइनन्, यी नै संक्रमण, छाला रोग, चोटपटक र दीर्घकालीन स्वास्थ्य समस्याबाट जोगाउने पहिलो कवच हुन् । ढल सफा गर्ने वा फोहोर उठाउने क्रममा हातमा सानो चोट लाग्नु पनि संक्रमणको ढोका बन्न सक्छ, त्यसैले पञ्जा नलगाई काम गर्नु जोखिमसँग सिधा सामना गर्नु जस्तै हो ।
यससँगै, काम गर्ने स्थानको अवस्था बुझ्नु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । ढलभित्र ग्यास जमेको छ कि छैन, फोहोरमा सुई, काँच वा धारिला वस्तु त छैनन्, रसायन मिसिएको त छैन ? यस्ता कुरामा सतर्कता अपनाउनुपर्छ । धेरै दुर्घटना जानकारीको अभाव र हतारका कारण हुने गरेका छन् । त्यसैले सरसफाइकर्मीलाई काम सुरु गर्नु अघि आवश्यक जानकारी र सचेतना गराउनु सम्बन्धित काममा लगाउने व्यक्तिको दायित्व हो भने त्यसलाई गम्भीरतापूर्वक लिनु श्रमिकको जिम्मेवारी हो ।
स्वास्थ्य संरक्षण र आत्मसम्मानको निरन्तर अभ्यास
सरसफाइकर्मीको सुरक्षा काम गर्ने समयमा मात्रै सीमित हुँदैन । काम सकेपछि अपनाइने सरसफाइ र स्वास्थ्य संरक्षणका अभ्यासहरू पनि त्यत्तिकै आवश्यक हुन्छन् । कामपछि हातखुट्टा साबुन पानीले राम्ररी धुने, नुहाउने, कामका कपडा घरका अन्य कपडाबाट अलग राख्ने र नियमित रूपमा सफा गर्ने बानीले धेरै रोगबाट बचाउन सक्छ । यस्ता अभ्यासलाई बेवास्ता गर्दा संक्रमण घरपरिवारसम्म फैलिन सक्छ, जुन अझै गम्भीर समस्या हो ।
नियमित स्वास्थ्य परीक्षण पनि सरसफाइकर्मीका लागि अत्यन्त आवश्यक पक्ष हो । छाला, फोक्सो, आँखा, श्वासप्रश्वास र पाचन प्रणालीसँग सम्बन्धित समस्या सुरुवाती चरणमै पहिचान गर्न सके उपचार सजिलो हुन्छ ।
तर धेरै सरसफाइकर्मी आर्थिक अभाव, समयको कमी वा जानकारी नहुँदा स्वास्थ्य जाँचबाट टाढा रहने गरेका छन् । यस अवस्थामा स्थानीय तह, संस्थान र कम्पनी वा नगरपालिकाले स्वास्थ्य बीमा, नियमित जाँच र परामर्शको व्यवस्था गर्नु सामाजिक जिम्मेवारी बन्छ ।
यस सबैको केन्द्रमा सरसफाइकर्मीको आत्मसम्मान र मानसिक स्वास्थ्य पनि जोडिएको हुन्छ । समाजले हेप्ने, अपहेलना गर्ने दृष्टिकोणले उनीहरूको मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । तर सुरक्षित वातावरण, सम्मानजनक व्यवहार र आफ्नो स्वास्थ्यप्रति सजग रहन पाएको अनुभूति नै उनीहरूको कामप्रतिको आत्मबल हो । सरसफाइकर्मी स्वयंले पनि मेरो स्वास्थ्य मेरो अधिकार हो भन्ने चेतनालाई आत्मसात् गर्दै सुरक्षा विधि अपनाउनु दीर्घकालीन सुरक्षाको आधार हो ।
अन्ततः, सरसफाइकर्मीको पेशागत तथा स्वास्थ्य सुरक्षा सार्वजनिक स्वास्थ्य, मानव मर्यादा र सामाजिक न्यायसँग जोडिएको विषय हो । उनीहरू सुरक्षित भए मात्र हाम्रो बस्ती, शहर र समाज साँच्चै सुरक्षित र स्वच्छ बन्न सक्छ ।


277 पटक हेरिएको 

