तीन महिनामै खानेपानी आयोजना सम्पन्न, उपभोक्ता समितिलाई हस्तान्तरण तथा उदघाटन

  वास खबर सम्बाददाता  265 पटक हेरिएको

चितवन : चितवनको इच्छाकामना गाउँपालिकाको वडा नं. ६ कुयलघारीमा तीन महिनाकै अवधिमा खानेपानी आयोजना सम्पन्न गरी खानेपानी उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ ।

गोर्खा वेल्फेयर ट्रष्ट (GWT) ले २०८२ कार्तिक २० गतेबाट निर्माण चरण सुरु गरी यही माघ २१ खानेपानी आयोजनाको हस्तान्तरण तथा समुदघाटन गरिएको वेल्फेयर ट्रष्टका प्रोजेक्ट सुपरभाइजर जोगमल शाहीले जानकारी दिनुभयो।

दुम्सी दुलो मूलको पानीबाट तीन महिनामै सम्पन्न खानेपानी आयोजना बाट ३३ घरमा सुरक्षित खानेपानीको सुविधा पुगेको छ । उहाँका अनुसार आयोजनाबाट ९२ जना महिला र ९७ पुरुष गरी १ सय ८९ जना लाभान्वित भएका छन् ।

आयोजनाबाट स्थानीय समुदायलाई सुरक्षित तथा स्वच्छ खानेपानी सेवा उपलब्ध भएपछि सरसफाइ अवस्थाको सुधार भई जनस्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो।

कुल ५६ लाख ९१ हजार ५३१ रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको खानेपानी आयोजनाको लागि गोर्खा वेल्फेयर ट्रष्टले ४५ लाख ५३ हजार ३१ रुपैयाँ लगानी गरेको छ । उपभोक्ताको तर्फबाट भने ११ लाख ३८ हजार ५ सय रुपैयाँ बराबरको लगानी छ ।

कोयलघारी खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष काजीलाल गुरुङको अध्यक्षता, इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ प्रमुख अतिथ्यता र गोर्खा वेल्फेयर ट्रस्ट, एरिया वेल्फेयर सेन्टर, चितवनका एरिया वेल्फेयर अफिसर मेजर रिटायर दिलीप गुरुङको विशेष अतित्थ्यमा मा सम्पन्न कार्यक्रममा उपभोक्ताहरुको समेत उपस्थिति थियो।

९ सदस्यीय खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा ५१ प्रतिशत महिलाको सहभागिता रहेको छ । प्रोजेक्ट सुपरभाइजर जोगमल शाहीका अनुसार समितिमा ५ जना महिला र ४ जना पुरुष छन् ।


खानेपानीको दिगोपनाका लागि तीन जना मर्मत सम्भार कार्यकर्तालाई योजना अवधिमा निपुण बनाईएको उहाँले बताउनुभयो। उपभोक्ताहरुले खानेपानीको मर्मतका लागि २८ हजार रुपैयाँको मर्मत सम्भार कोष समेत स्थापना गरेका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार