
काठमाडौँ : डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले सामुदायिक खानेपानी उपभोक्ताका लागि सेवा शुल्क संरचनामा परिवर्तन गरेको छ। अब इसेवा मार्फत रु. ६० सम्मको खानेपानी बिल भुक्तानी गर्दा कुनै पनि सेवा शुल्क लाग्ने छैन।
इसेवा लिमिटेडले खानेपानी तथा सरसफाइ उपभोक्ता समिति तथा संस्थाहरुलाई जानकारी गराउँदै न्यूनतम महसुल तिर्ने उपभोक्तामाथिको अतिरिक्त आर्थिक बोझ कम गर्ने उद्देश्यले सेवा शुल्क परिमार्जन गरिएको जनाएको छ। नयाँ व्यवस्था अनुसार रु. ६० सम्मको बिलमा लाग्दै आएको साबिकको रु. १० सेवा शुल्क पूर्णरूपमा निःशुल्क बनाइएको हो।
त्यसैगरी, रु. ६१ देखि रु. १५० सम्मको बिल भुक्तानीमा सेवा शुल्क रु. १० बाट घटाएर रु. ५ मात्र कायम गरिएको छ। यो नयाँ सेवा शुल्क संरचना २०८२ साल फाल्गुन १ गतेदेखि लागू हुने इसेवाले जनाएको छ। यस्तै १ सय ५० रुपैयाँ देखि १० रुपैयाँ सेवा शुल्क लाग्ने जनाएको छ । अहिलेसम्म जत्ति रुपैयाँ बुझाउनु परे पनि न्यूनतम शुल्क १० रुपैयाँ तोकिएको थियो।
इसेवाले सामुदायिक खानेपानी उपभोक्ताका लागि डिजिटल भुक्तानी प्रणाली सञ्चालन गर्दै आएको र यसबाट उपभोक्ताले सहज, सुरक्षित तथा पारदर्शी रूपमा खानेपानी शुल्क तिर्ने सुविधा पाउँदै आएको उल्लेख गरेको छ। यस सहकार्यले खानेपानी संस्थाहरूको शुल्क संकलन प्रक्रिया सरल बनाउनुका साथै समयमै महसुल प्राप्ति र डिजिटल पहुँच विस्तारमा योगदान पुर्याउँदै आएको पनि इसेवाको भनाइ छ।
इसेवा लिमिटेडका प्रमुख बिजनेस ग्रोथ एण्ड इनोभेसन विभाग प्रमुख जाबिर अलिले प्रस्तावित सेवा शुल्क संरचनाले आगामी दिनमा सेवाको गुणस्तर सुधार, प्रणाली विस्तार तथा सामुदायिक खानेपानी उपभोक्ता समिति र इसेवाबीचको सहकार्यलाई दीर्घकालीन रूपमा सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ।


186 पटक हेरिएको 

