‘भोट हालेर अघाइयो, तर पेट भरिने गरी पानी अझै आएन’

  वास खबर समाचारदाता  194 पटक हेरिएको

तनहुँ : व्यास नगरपालिका– १० की समिना बोटे उमेरले दुई पटक मतदान गर्न योग्य भइसकिन्, तर उनले मतदाता परिचयपत्र बनाएकी छैनन्, न त बनाउने जाँगर नै छ ।

आमाबुबाले पटक–पटकका निर्वाचनमा मतदान गरेको देखे–बुझेकी समिनालाई भोट हालेर केही हुन्छ भन्ने विश्वास लाग्न छाडेको छ । उनले भनिन्, ‘अहिलेसम्म आमाबाउले भोट दिएकै हुन् । न धारामा पानी आउँछ, न भरलाग्दो जागिर पाइएको छ । अब मैलेचाहिँ भोट किन दिनुपर्‍यो र रु मतदाता परिचयपत्र बनाएर के गर्नु ?’

गाउँमा कुनै पनि राजनीतिक दलले उनलाई मतदाता परिचयपत्र बनाउनुपर्छ वा मत दिनुपर्छ भनेर सम्झाउने प्रयास समेत गरेका छैनन् । गाउँका अधिकांश युवा बेरोजगार छन् । कोही विदेश पलायन भएका छन् भने कोही बालुवा चाल्न डाँडै कटेर कालिगण्डकी जान्छन् ।

समिनाकै छिमेकी हरिबहादुर थापा बागलुङबाट बसाइँ सरेर यहाँ आएको ४० वर्ष नाघ्यो । जान्ने–बुझ्ने भएदेखि नै उनले हरेक चुनावमा मतदान गर्दै आएका छन् । हरेक चुनावमा उनका कानले एउटै आश्वासन सुन्छन्, ‘हाम्रो पार्टीले पानी ल्याइदिन्छ । घरघरै धारा हुन्छ, रोजगारी दिन्छौँ ।’

थापाका गोठमा ५ वटा भैंसी छन्, जसका लागि उनले मादी नदीबाट आफ्नै खर्चमा दुई वटा मोटर जोडेर घरसम्म पानी तानेका छन् । दिक्क मान्दै उनले भने, ‘सपना त सुन्न बाँकी केही छैन । नेताहरूले भनेको आधामात्र काम गरेको भए पनि आज हामी मालिक भइसक्थ्यौँ । नयाँ–पुराना सबै भोगियो, अब त भोट हालेरै अघाइसक्यौँ ।’

तनहुँका अधिकांश ग्रामीण क्षेत्रमा खानेपानीको चरम समस्या छ । घरको डिलमुनिबाट नदी बगेका छन्, तर ती नदीको पानी तानेर घरसम्म ल्याइदिने नेता गाउँलेले पाएका छैनन् । त्यसैले धेरैजसो मतदातामा निर्वाचनप्रति खासै उत्साह छैन ।

‘चुनाव आउँछ, एउटाले जित्छ र जान्छ । चुनावअघि उम्मेदवारहरू विकासका ठुला सपना लिएर आउँछन्,’ व्यास–८ की गोमा मिश्र आक्रोश पोख्छिन्, ‘जितेपछि ५ वर्ष न उम्मेदवारको अनुहार देखिन्छ, न त विकास नै आउँछ । नेतालाई भेट्न चुनाव नै कुर्नुपर्छ ।’

तनहुँको क्षेत्र नम्बर १ मा अहिले पनि खानेपानीकै हाहाकार छ । उम्मेदवारहरूले यसपटक पनि प्रमुख एजेन्डा खानेपानीलाई नै बनाएका छन्, तर स्थानीयको एउटै माग छ– ‘सेती र मादी नदीको बिचमा बसेर अझै कति दिन काकाकुल जीवन जिउने ? कम्तीमा खानेपानी ल्याइदिनुस् ।’ Ratopati बाट साभार।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार