खानेपानी पर्खिरहेका भकुण्डेबासी

  वास खबर सम्बाददाता  167 पटक हेरिएको

बागलुङ : उत्तरतर्फ देखिने हिमाली श्रृंखला र पाहुनाको सत्कारका लागि तयार गरिएका होमस्टे र अर्गानिक खानाको परिकारले यहाँको भकुण्डे पर्यटकको उपयुक्त गन्तव्य स्थल हो ।

तर भकुण्डेमा सडक पूर्वाधारको अभाव छ । भएका सडक सञ्जाल जीर्ण छन् । ठेक्का लागेका सडक पनि समयमा नबन्दा स्थानीयले दुःख पाएका छन् । चाहेर पनि आउने पर्यटक पुग्न सकेका छैनन् । बागलुङ नगरपालिका–१० को भकुण्डेका स्थानीय भन्छन्, ‘सडक अप्ठ्यारो भएकाले पर्यटक भित्र्याउने र प्रवर्द्धनात्मक कार्यक्रम गर्न कठिन भएको छ ।’

२ हजार १ सय मिटरसम्मको उचाइमा रहेको भकुण्डेबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरी र मनास्लु हिमाली श्रृंखला देखिन्छ । सदरमुकाम बागलुङ बजारको दृश्य पनि आर्कषण देखिन्छ । तर १५ किलोमिटर परको यो गाउँ पुग्ने सडक जीर्ण छ ।

जसका कारण स्थानीयले दैनिक उपभोग्य सामग्री लैजान समेत सास्ती खेप्ने गरेको स्थानीय यामबहादुर थापाले बताए । ‘हामी मेहनत गरेर उब्जनी गर्ने, होमस्टे चलाएर पर्यटक भित्र्याउने काम गर्न तयार छौं,’ थापाले भने, ‘सडकका कारण पाहुनाले दुःख पाएको गुनासो बढी आउँछ ।’ झण्डै २२ वर्षअघि खुलेको सडकको ट्रयाक अझै अलपत्र पर्दा सेवामूलक व्यवसाय चलाउन पनि कठिन भएको उनले बताए ।

वडाध्यक्ष तिलबहादुर थापा समेत नागरिकको सास्तीले चिन्तित भएको बताउँछन् । भन्छन्, ‘सडक सहज नभएसम्म अन्य जे सुकै विकास गरेर पनि जनताले पत्याउने छैनन्,’ उनले भने, ‘सुशासन दिएर पनि जनता अडिने अवस्था छैन, सडक स्तरीय बनाए मात्र आम नागरिक गाउँमा अडिन्छन् ।’ उनले नगर स्तरीय बजेटले मात्र यहाँ सडक स्तरीय बनाउन नसकेको, प्रदेश र संघिय बजेटका ठेक्काहरु अलपत्र परेको उनले बताए ।

भकुण्डेमा रहेका बराह ताल, भ्यूप्वाइन्ट, होमस्टेले पनि पर्यटक लोभ्याउने गर्छ । तर स्तरीय पदमार्ग समेत छैन। कतिपय विदेशी पाहुना भ्रमण गर्न चाहन्छन्, तर राम्रो पदमार्ग अभावमा लैजान नसकेको अनुभव पर्यटन व्यवसायीको छ । ‘कि त स्तरीय सडक चाहियो, कि राम्रो पदमार्ग चाहियो,’ बागलुङ उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष राजनकुमार शाक्यले भने, ‘क्षमता विकासका तालिम र प्रवर्द्धनका क्षेत्रमा निजी क्षेत्रले पनि साथ दिन्छ, पूर्वाधारमा राज्यको लगानी बढाउनु पर्छ ।’

यहाँको अतिथि सत्कार होमस्टेमा मात्रै वर्षमा ३० हजार बढी पर्यटक पुग्ने गरे पनि सडक अभावले सहज यात्रा गर्न नसकेको गुनासो गर्छन् । पर्यटन प्रवर्द्धनमा सरोकारवालाको चासो भएमा विकासले गति लिन सक्ने उनको धारणा छ ।

भ्रमणको क्रममा कोरिया, अमेरिका, चीन र युरोपका पर्यटक समेत यहाँ पुग्छन् । अमेरिका र बेलायतका भेगन समूहहरु समेत बागलुङको भकुण्डे, रायडाँडाको बौद्द गुम्बा, काठेखोला गाउँपालिका–७ बौरसम्मको पैदल यात्रा गर्न रुचाउने गर्छन् । यहाँ पैदलयात्रीले ७ दिनसम्मको यात्रा गर्दै आएका छन् । तर आर्कषक पदमार्ग भएमा अहिले आएका विदेशीको संख्या दोब्बर बढाउन सकिने पर्यटन व्यवसायी महादेव शर्मा बताउँछन् ।

आसन्न निर्वाचनकालागि पनि स्थानीयले स्तरीय सडक, खानेपानी र सिँचाइको मुद्दालाई चासोको रुपमा उठाएका छन् । ‘हामीलाई सडक राम्रो चाहियो, हामी आफ्नै व्यवसाय गरेर पनि खान्छौं,’ स्थानीय टिका थापाले भनिन्, ‘खानेपानीका योजना अपूरा छन् । यही सडक, सिँचाइ र खानेपानी भए हामीलाई सहर चाहिएको छैन।’

दैनिक उपभोग्य उत्पादन गरेर खानकालागि सिँचाइको पहलमा राजनीतिक नेतृत्वले साथ दिनुपर्ने उनले बताइन् । गाउँमा उत्पादन हुने पशुचौपाया र तरकारी तथा कृषि उपजलाई सहजै बजार पठाउन पाउने सडक कालोपत्र गरिदिन पनि उनले आग्रह गरिन् ।यो खबर कान्तिपुर दैनिकबाट लिएको हो।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार