एमालेको घोषणा पत्र : ५ बर्ष भित्र सबै नेपालीलाई सुरक्षित खानेपानी तथा सरसफाइ सेवा

  वास खबर सम्बाददाता  278 पटक हेरिएको

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पाँच बर्ष भित्र सबै नेपालीलाई सुरक्षित खानेपानी तथा सरसफाइ सेवा उपलब्ध गराउने जनाएको छ । प्रतिनिधि सभा निर्वाचन २०८२ को चुनावी घोषणापत्र सार्वजनिक गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी पाँच वर्षमा सबै नागरिकलाई स्वच्छ, सुरक्षित र गुणस्तरीय खानेपानी तथा सरसफाईमा पहुँच सुनिश्चित गरिने योजना सार्वजनिक गर्नु भएको हो।

एमाले नेपालीलाई २४ घन्टा र सातै दिन सुरक्षित पिउने पानी उपलब्ध गराउने लक्ष्य सहित आगामी दुई वर्षमा सम्पूर्ण घरहरूमा आधारभूत खानेपानी तथा सरसफाईको पहुँच पुर्‍याउने घोषणा पत्रमा उल्लेख गरेको छ। यसका लागि पानीको स्रोतदेखि उपभोक्तासम्मु सबै चरणमा गुणस्तर सुधार गर्दै GIS नक्साङ्कन प्रणाली लागू गर्ने योजना छ।

महानगर, नगर र गाउँपालिकालाई खानेपानी वितरणका जोनहरूमा विभाजन गरी, सबै जोनका उपभोक्ताहरूका लागि निरन्तर स्वच्छ पानी उपलब्ध गराइनेछ। सुख्खाग्रस्त क्षेत्रहरूमा वैकल्पिक व्यवस्था राखी आपतकालीन पानीको भण्डारण, वितरण तथा बाढी र पहिरो व्यवस्थापनको पूर्वयोजना पनि तयार गरिनेछ।

पार्टीले खानेपानी वितरण नेटवर्कमा स्मार्ट प्रणाली लागू गरी गुणस्तर सुधार गर्ने र सबै सार्वजनिक स्थलहरूमा महिला, अपाङ्गता, ज्येष्ठ नागरिक, बालबालिका र लैङ्गिक तथा यौनिक अल्पसंख्यकमैत्री सार्वजनिक धारा र शौचालयको व्यवस्था सुनिश्चित गर्ने योजना अघि सारेको छ।

साथै, जलवायु अनुकूलन कार्यक्रम अन्तर्गत उपलब्ध जलवायु वित्तको निश्चित प्रतिशत पानीका मुहान संरक्षण, जलवायु अनुकूलन र उत्थानशील कार्यक्रमहरूमा परिचालन गरी खानेपानीको आपूर्तिलाई सुनिश्चित गरिने छ। पार्टीले जैविक विविधता, बस्ती विस्तार, मानव क्रियाकलाप, स्थानीय जलवायु र इकोसिस्टम सेवाहरूको संरक्षण पनि प्राथमिकता दिने जनाएको छ।

एमालेको घोषणापत्र अनुसार, ताल, नदी, सीमसार क्षेत्र र पानीका मुहानको संरक्षण सुनिश्चित गर्दै दीर्घकालीन रूपमा देशभर खानेपानी र सरसफाइको पहुँच विस्तार गरिनेछ।

एमालेको घोषणापत्रको पूर्णपाठ:

UML Manifesto


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार