
सल्यान : बन्गाड कुपिण्डे नगरपालिका–३ बामेको खरिकका रुद्रबहादुर पुनले २०६४ पछिका हरेक निर्वाचन प्रचारमा आउने उम्मेदवार र नेताहरुलाई एउटै माग राख्दै आएका छन् । उनको मागप्रति उम्मेदवारले प्रतिबद्धता समेत जनाउँदै आएका छन् ।
चुनाव जितेपछि केही त मन्त्री पनि भए तर उनको माग अहिलेसम्म पूरा हुन सकेन । खानेपानी उनको मात्र नभई वडा ३ मा पर्ने खरिक, बाँझकोट, हरले, जामुने, बोहरागाउँका बासिन्दाको साझा माग हो । डाँडामा रहेको मुहानमा पानी सुक्दै गएपछि बामेको विभिन्न बस्तीका बासिन्दाले खानेपानीको लागि सास्ती भोग्दै आएका छन्।
विगतदेखि नै पानीको समस्या भएपछि बामेको खरिक, हरले, बाँझकोट, जामनुे, बोहरा गाउँका स्थानीयले लिफ्ट खानेपानीको माग राखेका थिए । माग पूरा नभएपछि स्थानीय महिला अहिले पनि एक गाग्री पानीका लागि बस्तीदेखि झन्डै एक घण्टा हिँड्नु परेको छ। मुहानमा पानी सुक्दै गएकाले बस्तीका महिलाले टाढाबाट पानी बोक्नु परेको हो ।
विगतदेखि राख्दै आएको माग निर्वाचित भएर गएका नेताले पूरा गर्न नसकेपछि पानीका लागि सास्ती भोग्दै आएका स्थानीयले अहिले पनि नयाँ उमेदवारसँग लिफ्ट खानेपानी योजनाको माग राखेका छन् । उसो त केही वर्षअघि वडा ३ का विभिन्न बस्तीमा खानेपानी पुर्याउन ४ करोड खर्च लाग्ने भन्दै डिपिआर समेत गरिएको थियो । डिपिआर गरेको वर्षौंसम्म पनि बजेटको ब्यवस्था गर्न नभएपछि स्थानीय पुनः खानेपानीकै माग गर्न बाध्य भएका हुन् ।
बस्तीका घरघरमा खानेपानी ल्याउनेलाई उनीहरुले निर्वाचनमा सघाउने प्रतिबद्धता समेत जनाएका छन् । खानेपानीको समस्याका कारण विभिन्न बस्तीका झन्डै २ सय परिवार प्रभावित भएका छन् । पानीकै समस्याका कारण केही परिवार विस्थापित समेत भइसकेका छन् । ‘मैले निर्वाचनका बेला टेकबहादुर बस्नेत, प्रकाश ज्वाला, भीमप्रकाश शर्मा, गुलाबजंग शाहसँग माग राख्दै आएको डेढ दशक भयो । उनै नेताले पटक पटक निर्वाचन जिते । जितेर गएपछि खासै चासो दिएनन् । नयाँले पनि जितेर गएपछि माग पूरा गर्लान भन्ने विश्वास छैन,’ खरिकका रुद्रबहादुर पुन भन्छन्, ‘निर्वाचनमा भोट चाहिएको हुन्छ र मतदाता खोज्दै घरघर आएर विभिन्न आश्वासन दिन्छन्, जितेर गएपछि सबै बिर्सन्छन्, फर्केर आउँदैनन् ।’
विगतदेखि अहिलेसम्म कुनै योजना पर्न नसकेको बस्तीमा खानेपानीको समस्या भएपछि एक गाग्री पानीको लागि आधादेखि एक घण्टा हिँड्नु परेको ४९ वर्षीया विरमी पुनले बताइन् । नेताहरुले आफ्नो पकड भएका क्षेत्रमा मात्र विभिन्न किसिमका योजना सम्पन्न गर्दा आफुहरु पछि परेको उनको गुनासो छ । उनी भन्छिन्, ‘बस्ती आसपासमा भएका धेरै मुहान सुकिरहेका छन् । वर्षातको समयमा त खासै समस्या हुँदैन । चैतदेखि असारसम्म धेरै गाह्रो हुन्छ । कहिलेकाँही त पानीका लागि खोलासम्मै झर्नु पर्छ ।’ यसपाली जसले घरघरमा खानेपानीको ब्यवस्था गर्न सक्छ त्यसैलाई निर्वाचनमा सघाउने उनले बताइन् ।
बाँझकोटका टेकबहादुर पुनले आफ्नो बस्तीमा झनै खानेपानीको समस्या भएको बताए । धेरै पटक माग राख्दै आए पनि कसैले पूरा नगरेको उनले बताए । ‘पटक पटक माग राख्दै आउँदा केही वर्षअघि लिफ्ट खानेपानीको डिपिआर गरियो । योजना संचालनका लागि ४ करोड लाग्ने देखियो । अहिलेसम्म स्थानीय, प्रदेश र संघीय सरकारले बजेट ब्यवस्था गर्न सकेको छैन । जसका कारण बस्तीबासीको खानेपानीको समस्या जहाँको त्यही छ,’ उनले भने ।
वडाध्यक्ष धनबहादुर पुनले डीपीआर अनुसार योजना निर्माणका लागि ४ करोड रुपैयाँ आवश्यक हुने भएपछि बजेट व्उयवस्थापन तर्फ नेताहरुले चासो नदेखाएको बताए । रकम धेरै भएकाले स्थानीय तहले बजेट छुट्याउन नसकेको उनले बताए । कान्तिपुरबाट साभार।


226 पटक हेरिएको 

