नवलपरासी : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन–२०८२ अन्तर्गत नवलपरासी (पश्चिम) मा चुनावी सरगर्मी बढिरहेको छ। यस क्षेत्रमा शुद्ध खानेपानी तथा सरसफाइको एजेन्डा मुख्य प्राथमिकताका रूपमा देखा परेको छ। राजनीतिक दल, दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरू गाउँ–बस्ती र टोल–टोलमा पुगेर ‘एक घर एक धारा’ को नारालाई नै मुख्य एजेन्डा बनाएका छन्।
नवलपरासी निर्वाचन क्षेत्र नं. १ बाट बिक्रम खनाल (रास्वपा), बिनोद चौधरी (नेपाली कांग्रेस), रामप्रसाद पाण्डे (नेकपा एमाले), हृदयेश त्रिपाठी (जप्रपा), सिन्धु जलेसा (नेपाली कम्युनिस्ट पार्टी), नवनित मिश्र (राप्रपा) र विजय कंडेल (उज्यालो नेपाल) ले घरदैलो गर्दै शुद्ध खानेपानीका समस्या आफूले देखेको उल्लेख गर्दै शुद्ध खानेपानी उपलब्ध गराउने प्रतिवद्दतासमेत जनाएका छन्।

यस्तै, क्षेत्र नं. २ बाट भरत थापा (नेपाली कांग्रेस), लेखनाथ खरेल (नेकपा एमाले), नरेन्द्रकुमार गुप्ता (रास्वपा), देवेन्द्र पौडेल (नेपाली कम्युनिस्ट पार्टी) र ध्रुवबहादुर प्रधान (राष्ट्रिय प्रजातन्त्र पार्टी) चुनावी मैदानमा उत्रिएका छन्। उनीहरूले पनि खानेपानीको अवस्था बुझ्ने र हरेक घरमा धारा पुर्याउने प्रतिबद्धता जनाएका छन्।
क्षेत्र नं. १ का नेपाली कांग्रेसका उम्मेदवार बिनोद चौधरी र क्षेत्र नं. २ का उम्मेदवार भरत थापाले ल्यान्डफिल्ड साइट निर्माणलाई विशेष प्राथमिकताका साथ उठान गरेका छन्। भने नवलपरासीका अधिकाश उम्मेदवारहरुले आफ्नो घोषणापत्रमा ‘एक घर एक धारा’ अभियानलाई प्राथमिकताका साथ उल्लेख गरेका छन्।
उम्मेदवारहरू सुनवल, रामग्राम, बर्दघाट नगरपालिका तथा सरावल, प्रतातपुर, सुस्ता र पाल्हीनन्दन गाउँपालिकाका टोल–टोलमा पुगेर मत मागिरहेका छन्। उनीहरूले आ–आफ्ना राजनीतिक संगठन परिचालन गरेर घरदैलो अभियानलाई तीव्रता दिएका छन्।
औपचारिक रूपमा प्रचारप्रसार सुरु भएसँगै उम्मेदवारहरूले मतदाताको घर–घरमा पुगेर आफू र आफ्नो पार्टीलाई मतदान गर्न अनुरोध गर्दै विकास र समृद्धिका एजेन्डा प्रस्तुत गरिरहेका छन्। घरदैलोकै क्रममा उनीहरूले मतदाताका गुनासा, सुझाव र अपेक्षा सुन्दै क्षेत्रको समग्र विकासका लागि प्रतिबद्धता समेत जनाइरहेका छन्।
जिल्लाका विभिन्न ठाँउहरुमा गरिएका कोण सभा बोल्दै उम्मेदवारहरुले खानेपानी र सरसफाइका मुद्दा उठाएको जिल्ला खानेपानी महासंघ नवलपरासीका अध्यक्ष देवीदत्त सापकोटाले बताउनु भयो । उहाँका अनुसार, “अझै पनि राजनीतिक दल र उम्मेदवारहरूले खानेपानी र सरसफाइलाई प्राथमिकता दिन सकेको देखिएको छैन। कतिपयले भाषणमा भने पनि आफ्नो प्रतिबद्धता पत्रमा उल्लेख गरेका छैनन्।”
विगतका चुनावको तुलनामा यस पटक नवलपरासीमा खानेपानी र सरसफाइको विषय बढी उठेको देखिएको छ। उम्मेदवारहरू घरदैलोमा जाँदा विशेष गरी बजार क्षेत्रमा सरसफाइको विषय उठान भएको छ।
बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष दीपक लम्सालले उम्मेदवारहरूले शुद्ध खानेपानीको विषय उठाउँदै ‘एक घर एक धारा’ लाई प्राथमिकतामा राखेको पाइए पनि सरसफाइको विषयमा भने त्यति चासो नदेखाएको बताउनु भयो ।
निर्वाचन नजिकिँदै जाँदा अन्य उम्मेदवारहरूले समेत मतदातासँग प्रत्यक्ष भेटघाटलाई प्राथमिकतामा राख्दै प्रचार अभियानलाई थप तीव्र बनाइरहेका छन्। जिल्लाभर चुनावी माहोल क्रमशः तात्दै गएको छ।


355 पटक हेरिएको 

