
नवलपरासी: बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले महिला सशक्तिकरण तथा समुदाय लक्षित सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। खानेपानी सुरक्षा योजना टोलीको आयोजनामा उपभोक्ताहरूका लागि एकदिने अभिमुखीकरण तथा सचेतना कार्यक्रम आयोजना गरिएको हो।
संस्थाको कार्यक्षेत्रभित्र रहेका नवजागृति आमा समूहका करिब ५५ जना सदस्यहरूको सहभागितामा सम्पन्न कार्यक्रममा खानेपानीको स्वच्छता, सुरक्षा तथा वातावरणीय सरसफाइका विषयमा विस्तृत छलफल गरिएको थियो। सस्थाका पुर्व अध्यक्ष सिद्दिबिलास हमालले बिगतदेखि अहिले सम्म सस्था परदर्शित र बिधि प्रक्रियाले गर्दै नै वृद्धि बिकास भएको उल्लेख गर्नु भयो । राम्रो कामको अनुसरण गर्नु पर्ने भन्दै उहाँले बर्दघाट खानेपानीको काम अरु खानेले अनुसरण गर्न सके शुद्ध पानी उपलब्ध गराउन सहज हुने जिकिर गर्नु भयो ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष दीपक लम्सालले उपभोक्तालाई सफा र स्वच्छ पानीको उपभोगप्रति सचेत गराउन समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। उहाँले क्लोरिन प्रयोगका कारण कहिलेकाहीँ पानीमा गन्ध आउन सक्ने उल्लेख गर्दै पानी चुहावट वा अन्य कुनै समस्या देखिएमा तुरुन्तै संस्थामा जानकारी गराउन आग्रह गर्नुभयो। प्लास्टिकजन्य फोहोरले माटोको उर्वराशक्ति घटाउने भन्दै वृक्षारोपणमार्फत पानीका मुहान संरक्षण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

कार्यक्रमका संयोजक तथा संस्थाका उपाध्यक्ष कमल थापाले संस्थाको मुख्य उद्देश्य “मुहानदेखि मुखसम्म शुद्ध पानी पुर्याउनु” रहेको बताउनुभयो। पानीको शुद्धता आँखाले हेरेर मात्र थाहा नपाइने उल्लेख गर्दै उहाँले घरको धारामा कपडा नबाध्न उपभोक्तालाई आग्रह गर्नुभयो। “धारामा बाँधिएको भिजेको कपडामा स्वास्थ्यका लागि हानिकारक जीवाणु पैदा हुन सक्छन्, जसले पानी झन् दूषित बनाउँछ,” उहाँले भन्नुभयो। हाल संस्थाले ७ वटा मुहान प्रयोग गरी पानी वितरण गरिरहेको र २०६८ सालदेखि खानेपानी सुरक्षा योजना लागू गर्दै आएको जानकारी पनि उहाँले दिनुभयो।
संस्थाकी कोषाध्यक्ष राधादेवी अधिकारीले उपभोक्ता सचेत भएमा संस्थाको काम अझ प्रभावकारी बन्ने बताउँदै उपभोक्ताका सुझावका आधारमा संस्था अघि बढ्ने धारणा राख्नुभयो। संस्थाका व्यवस्थापक विष्णु भुसालले संस्थाको वित्तीय तथा भौतिक प्रगतिबारे जानकारी दिँदै सुरुमा १ हजार धारा वितरण गर्ने लक्ष्य राखिएकोमा हाल ४ हजार २ सय २४ उपभोक्ता पुगेको बताउनुभयो। उहाँका अनुसार संस्थाको मासिक आम्दानी १४ लाख ५० हजार रुपैयाँ र खर्च करिब १४ लाख रुपैयाँ रहेको छ भने स्थापनाकालदेखि हालसम्म करिब १५ करोड रुपैयाँ बराबरको पानी बिक्री भइसकेको छ।
कार्यक्रममा सहजीकरण गर्दै अधिवक्ता प्रकाश न्यौपानेले खानेपानी तथा सरसफाइसँग सम्बन्धित विभिन्न आयाममा महिलाको भूमिकालाई थप सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। विशेषगरी महिलाहरूको पानीमा पहुँच, सुरक्षित र दिगो पानी व्यवस्थापन तथा निर्णय प्रक्रियामा उनीहरूको सक्रिय सहभागितालाई केन्द्रमा राखेर सहजीकरण गरिएको थियो। सहजीकरणका क्रममा न्यौपानेले समुदायस्तरमा पानीको स्रोत संरक्षण, समान पहुँच सुनिश्चित गर्ने उपायहरू तथा संस्थागत निर्णय प्रक्रियामा महिलाको प्रतिनिधित्व बढाउनुपर्ने विषयमा जोड दिनुभयो। उहाँले महिलाको सहभागिता बढेमा सेवा प्रवाह प्रभावकारी र उत्तरदायी बन्ने उल्लेख गर्नुभयो।
नवजागृति आमा समूहकी अध्यक्ष कमला बस्यालले खानेपानीसम्बन्धी आफ्ना शङ्का–उपशङ्का कार्यक्रममार्फत स्पष्ट भएको बताउँदै अब कुनै अन्योल नरहेको प्रतिक्रिया दिनुभयो। पानीको प्रयोग र सदुपयोगबारे थप जानकारी प्राप्त भएको उहाँको भनाइ छ। कार्यक्रममा सस्थाका पुर्व अध्यक्ष सिद्दिबिलास हमाल र दिव्यज्योती बहुमुखी क्याम्पसका सञ्चालक समितीका अध्यक्ष पुण्य प्रसाद पौडेल लगायतको उपस्थित रहेको थियो ।
कार्यक्रममा खानेपानी तथा सरसफाइसम्बन्धी सांगीतिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो। साथै सहभागीहरूलाई संस्थाको गतिविधि, संरचना र वर्तमान अवस्थाबारे जानकारी गराइएको थियो। कार्यक्रमको अन्त्यमा सहभागीहरूले पानी चुहावट देखेमा खबर गर्ने, प्लास्टिक प्रयोग नगर्ने, कपडाको झोला प्रयोग गर्ने तथा कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउनेलगायतका प्रतिबद्धता व्यक्त गर्नु भयो ।


373 पटक हेरिएको 

