छिन्नमस्ताको आँगनमा विश्व पानी दिवस : पानी शुद्धिकरणका विधिहरुको प्रदर्शन

  वास खबर समाचारदाता  265 पटक हेरिएको


सप्तरी : विश्व पानी दिवस, “पानी तथा लैंगिकता” भन्ने मूल नारा सहित विश्वभर भव्य रुपमा मनाइदैछ ।

सुरक्षित पानीमा महिला र पुरुषको समान अवसर, पहुँच र समानता कायम हुन सकोस् भन्ने उद्देश्य सहित संसारभर मनाइएको यस दिवस, सप्तरीमा रहेको छिन्नमस्ता मंदिर प्राङ्गणमा समेत भव्य रुपमा मनाइएको छ ।


मंन्दिर प्राङ्गणमा स्टल स्थापना गरी पानी शुद्धिकरणका विभिन्न विधिहरु बायोस्याण्ड फिल्टर, क्लोरिनेशन, सोडिस आदिको प्रर्दशन गरिएको थियो भने उमाल्ने विधिबारे जानकारी दिइएको थियो ।

प्रदर्शनीका क्रममा ग्रामीण स्तरमा सस्तो, किफायती, प्रयोगमैत्री, शून्य मर्मत संभार खर्च रहको बायोस्याण्ड फिल्टरलाई मुख्य प्राथमिकतामा राखिएको थियो । यस फिल्टरले पानी शुद्धिकरण कसरी गर्छ र यो सजिलैसँग कसरी प्रयोग गर्न सकिन्छ भन्ने बारे आयोजकका तर्फबाट आगन्तुकलाई विस्तारमा जानकारी दिइएको थियो ।


त्यसैगरी, ईन्फो फिल्ड टेष्ट किटको प्रयोग गरी मंदिर वरिपरिका घरहरुको पानी परिक्षण गरिएको थियो । पानी परिक्षणका क्रममा बहुसंख्यक घरहरुमा आइरनको मात्रा मानक दायराभन्दा माथि देखिएकाले त्यस्ता घरहरुलाई बायोस्याण्ड फिल्टरको प्रयोग गरी पानी पिउन सुझाइएको ह्याविट्याट फर ह्यूम्यानिटी नेपालका परियोजना संचालन प्रमुख गोविन्द सुवेदीले जानकारी गराउनुभयो।


आगन्तुकहरुलाई खानेपानी, सरसफाइ तथा स्वच्छताबारे जानकारी दिन सन्देशमूलक फ्लेक्स प्रिन्टहरुले स्टललाई सजाइएको थियो । खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी जानकारीलाई घर–घरसम्म पुर्‍याउने उद्देश्यले सम्पूर्ण आगन्तुकलाई चित्रात्मक एवं आकर्षक ब्रुशरहरु वितरण गरिएको थियो ।


स्थानीय, विद्यार्थी तथा मन्दिर दर्शनार्थी गरी करिब ३०० बढीले स्टलको अवलोकन गरेका थिए । विहान ११ बजेबाट सुरु भई ४ बजे समापन गरिएको उक्त प्रदर्शनीमा स्थानीय जनप्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो । ह्याविट्याट फर ह्यूम्यानिटी नेपालले आयोजना गरेको यस कार्यक्रममा छिन्नमस्ता गाउँपालिका तथा सेभ द सप्तरीको समन्वय रहेको थियो ।

त्यसैगरी, आगन्तुकहरुलाई स्टलको उद्देश्य तथा उपलब्ध सेवाबारे जानकारी दिन सफाइ परियोजनाका सामाजिक परिचालक तथा स्वयंसेवक युवाहरुले सहजीकरण गरेका थिए ।


कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) तथा ह्याविट्याट फर ह्यूम्यानिटी नेपालको सहयोग तथा सेभ द सप्तरीको सहजीकरणमा यस पालिकाका सातवटै वडामा “सफाई परियोजना” संचालनमा रहेको छ ।

यस परियोजना अन्तर्गत मुसहर बस्तीका अति विपन्न ५ सय १० वटा घरधुरीमा शौचालय तथा खानेपानी सुविधा विस्तार गर्ने योजना रहेको छ ।

तस्बिरहरु : अभिषेक बिष्ट/ह्याविट्याट फर ह्यूम्यानिटी


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार