बोतलको पानीमा प्रदेश सचिवको चासो

  वास खबर सम्बाददाता  161 पटक हेरिएको

इलाम : कोशी प्रदेशका खानेपानी सिञ्चाइ तथा उर्जा मन्त्रालयका सचिव पुष्कर पोखरेलले उपभोक्ता समितिलाई पानी बेचेर कमाउने वातावरण बनाउनुपर्ने बताउनु भएको छ । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले इलामको इलामबजारमा आयोजना गरेको सुरक्षित खानेपानी तथा सरसफाइ सेवाका लागि ऐन कानुनको प्रभावकारी कार्यान्व्यन बिषयक कार्यशाला गोष्ठीमा उहाँले यस्तो धारणा राख्नु भएको हो।

सुरक्षित खानेपानी तथा सरसफाइ सेवाका लागि ऐन कानुनको प्रभावकारी कार्यान्वयन विषयक कार्यशालामा पोखरेलले आफुसँग भएको प्राकृतिक श्रोतको उपयोग गरेर धेरै देशहरुले विकास गरेको उदाहरण दिँदै अरुले तेल बेचेर धेरै कमाइसके, हामीले पानी किन नबेच्ने ? भन्दै उपभोक्ता समितिहरुलाई पानीको व्यापार गर्न दिनुपर्ने तर्क गर्नुभयो।

कोशी प्रदेशका झापा, इलाम, पाँचथर, ताप्लेजुङ ४ जिल्लाका १० स्थानीय तहका खानेपानी तथा सरसफाइ उपभोक्ता समिति तथा प्रमुख प्रशासकीय अधिकृतका साथै हरु खानेपानी शाखाका कर्मचारीहरुले सहभागिता जनाएको कार्यक्रममा स्थानीय उपभोक्ता समितिहरुले हालको कानुनी प्रावधानहरुका कारण परेका असरहरुका बारेमा छलफल गरेका थिए ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका सिडिइ डा. रजित ओझाले कार्यक्रमको सहजिकरण गर्दै अहिले खानेपानी उपभोक्ता समितिहरुले वितरण गरिरहेको पानीको गुणस्तरमा एकरुपता कायम हुन नसकेकोले सरकारले त्यसका लागि मापदण्ड निर्माण गरी देशभर लागु गर्न तयारी गरिरहेको बताउनुभयो।

एकिकृत तथ्यांक अभावमा कामको प्रभावकारिता कम हुने भन्दै आफुले गर्ने कामको दस्तावेजीकरणमा ध्यान दिन उपभोक्ता समितिहरुलाई उहाँले आग्रह गर्नुभयो।

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका अध्यक्ष राजेन्द्र अर्यालले नेपालमा खानेपानी वितरणका क्षेत्रमा उपभोक्ता समितिहरुले ७८ प्रतिशतभन्दा धेरै हिस्सा ओगटेको बताउनुभयो। उहाँले सरकारले लिफ्टिङ गर्नुपर्ने योजनामा विद्युत महशुलमा छुट नदिए खानेपानी सेवा सर्वसाधारणको पहुँचबाट बाहिर जाने चिन्ता व्यक्त गर्नुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार