हेलो सरकारमा खानेपानी र सरसफाइ सम्बन्धी २ सय गुनासा

काठमाडौ : हेलो सरकारमा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी २ सय ४ वटा गुनासा दर्ता भएका छन् । खानेपानी तथा सरसफाइ मन्त्रालय स्थापना भएको २६ महिनाको अवधिमा ती गुनासा दर्ता भएका हुन् ।

खानेपानी तथा सरसफाइको क्षेत्रगत नीति तथा ऐन कानुनको निर्माण र विकास गर्ने हेतुले मन्त्री परिषद्को २०७२ पुस ९ गतेको निर्णयले खानेपानी तथा सरसफाइ मन्त्रालयको स्थापना भएको हो ।

सबैभन्दा बढी दुषित पानी उपभोग गर्नुपर्ने गुनासा आउने गरेको हेलो सरकारको गुनासो सुन्ने अधिकारीहरु बताउँछन् । खानेपानी सँग सम्बन्धित गुनासामा पानीको धारामा ढल मिसिएको, ढल फुटेर मलमूत्र मिसिएको पानीको पनि महसुल तिर्नुपरेको, पानी नियमित वितरण नभएको, खानेपानी चुहावट भएको जस्ता गुनासा आउने गरेको हेलो सरकारको डेस्क प्रमुख रुपक अर्यालले जानकारी दिनुभयो ।

 

स्वच्छता सँग सम्बन्धित गुनासामा पनि ढल फुटेर दुर्गन्धित भएको, फोहोर व्यवस्थापन नहुँदा वातावरण प्रदुषित बनेको, तीन महिनासम्म सडकमा ढल बग्दा पनि कसैले चासो नदिएको जस्ता गुनासा आउने गरेको हेलो सरकारका शाखा अधिकृत हरिभक्त महताराले बताउनुभयो ।

करिब शत प्रतिशत गुनासा फर्छ्यौट

खानेपानी र सरसफाइ सम्बन्धी दर्ता भएका गुनासा मध्ये सबैजसो गुनासो फछ्र्यौट भएको शाखा अधिकृत महताराले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म दर्ता भएका २०४ वटा गुनासा मध्ये १९९ वटा गुनासा फर्छ्यौट भएका छन् ।

 

हेलो सरकारमा प्राप्त भएका गुनासोहरु तत्काल खानेपानी तथा सरसफाइ मन्त्रालयमा पठाउने गरेको र त्यहाँबाट मातहतका निकायहरु मार्फत समस्या समाधानको पहल हुने गरेको उहाँले बताउनुभयो । प्राप्त गुनासाहरु मध्ये हेलो सरकार कक्षबाटै समाधान गर्न सकिने विषयलाई तत्काल समाधानको प्रयास गरिएको र अरु समस्यालाई प्राथमिकताको आधारमा साधारण, प्राथमिकता र उच्च प्राथमिकतामा राखेर मन्त्रालयमा फरवार्ड गरिएको उहाँले बताउनुभयो ।

साधारण गुनासो ७ दिनभित्र, प्राथमिकतामा राखिएको गुनासो ३ दिनभित्र र उच्च प्राथमिकतामा राखिएको गुनासोलाई २ घण्टा भित्र समाधानको पहल गरिन्छ ।

हेलो सरकारले फेसबुक, ट्वीटर, फोन, एसएमएस, फ्याक्स, वेभसाइट र हुलाक मार्फत गुनासो लिन गरेको छ । गुनासोकर्ता आफै हेलो सरकार कक्षमा आएर पनि गुनासो दर्ता सकिने शाखा अधिकृत महताराले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार