इलाम : खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ (फेडवासन) कोशी प्रदेशको दोस्रो प्रदेश अधिवेशनबाट राजन केसीको नेतृत्वमा १४ सदस्यीय नयाँ प्रदेश कार्यसमिति चयन गरिएको छ।
इलाममा सम्पन्न अधिवेशनले केसीलाई अध्यक्षमा निर्वाचित गरेको हो। नयाँ कार्यसमितिमा अस्मिता गहतराज उपाध्यक्ष, डम्बर प्रसाद सिग्देल महासचिव, भिमा देवी खनाल सचिव, तुलसा दाहाल कोषाध्यक्ष निर्वाचित हुनुभएको छ।
यसैगरी सदस्यहरूमा तुलसी भट्टराई, पेम्बा शेर्पा, तुलबहादुर तामाङ, रविन कार्की, कृष्णकुमारी निरौला, कमलबहादुर तामाङ, केसिलाल चौधरी, भवानी धिमाल र लालमणी भट्टराई चयन हुनुभएको छ।
अध्यक्ष केसीले जिल्लागत प्रतिनिधित्व सुनिश्चित गर्न केही सदस्य पछि मनोनयन गरिने जानकारी दिनुभयो।
नवनिर्वाचित अध्यक्ष केसीले खानेपानी योजनाहरूमा व्यवसायिक योजनाको अभावका कारण धेरै समस्या देखिएको उल्लेख गर्दै आगामी दिनमा प्रत्येक योजनामा यसलाई लागू गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो, “बिजनेस प्लान ठूला खानेपानी योजनाका लागि मात्रै होइन, ५० धारासम्मका साना योजनाका लागि पनि आवश्यक छ। अबका दिनमा हामी यही पक्षमा केन्द्रित भएर काम गर्छौं।”
अधिवेशनमा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालका अध्यक्ष राजेन्द्र अर्यालले खानेपानी क्षेत्रमा करसम्बन्धी विवाद अझै कायम रहेको बताउँदै यसको समाधानका लागि महासंघले निरन्तर पैरवी गरिरहेको जानकारी दिनुभयो।
उद्घाटन समारोहमा खानेपानी तथा ढल व्यबस्थापन विभागका सिडिइ डा. रजित ओझा तथा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय झापाका प्रमुख सुमनकुमार भट्टराईले उपभोक्ता समिति सक्रिय रहेका योजनाहरू बढी प्रभावकारी देखिएको उल्लेख गर्दै महासंघले यस विषयमा विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभयो।


119 पटक हेरिएको 


