
काठमाडौं : खानेपानी मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीले खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) क्षेत्र लामो समयदेखि गम्भीर वित्तीय चुनौतीबाट गुज्रिरहेको बताउनुभएको छ।
ललितपुरमा सुरु भएको ‘ग्लोबल साउथ WASH Financing & Sustainability Conference 2026’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले सुरक्षित खानेपानी र दिगो सरसफाइ सेवा सुनिश्चित गर्न परम्परागत बजेट प्रणाली मात्र पर्याप्त नभएको स्पष्ट पार्नुभयो।

उहाँले सम्मेलनलाई अन्तर्राष्ट्रिय संवाद, ज्ञान आदानप्रदान र सहकार्यको साझा मञ्चका रूपमा व्याख्या गर्दै सरकार, विकास साझेदार, नागरिक समाज, निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई एउटै थलोमा ल्याएर WASH क्षेत्रमा लगानी विस्तार र दिगोपनाबारे ठोस छलफल गर्ने अवसर सिर्जना भएको बताउनुभयो।
सचिव पुडासैनीका अनुसार ग्लोबल साउथका लाखौं नागरिक अझै सुरक्षित खानेपानीको पहुँचबाट वञ्चित छन्। जलवायुजन्य जोखिम, तीव्र शहरीकरण, बढ्दो जनघनत्व, पूर्वाधार विस्तारको सुस्त गति र सेवा प्रवाह बीचको अन्तरले WASH क्षेत्रमा ठूलो वित्तीय अभाव सिर्जना गरेको उहाँको भनाइ थियो। विशेषगरी पिछडिएका, सीमान्तकृत र कमजोर समुदायहरू लगानी अभावका कारण अझै पछाडि परिरहेको अवस्था रहेको उहाँले औंल्याउनुभयो।
विस्तृतमा हेर्नुहोस् यो भिडियोः
“आजको मुख्य प्रश्न कति लगानी गरियो भन्ने होइन, उपलब्ध स्रोतलाई कति प्रभावकारी, न्यायोचित र समानुपातिक ढंगले विनियोजन गरियो भन्ने हो,” सचिव पुडासैनीले भन्नुभयो। उहाँले बजेट खर्चको गुणस्तर, लक्षित समुदाय सम्मको पहुँच, सेवा दिगोपना र स्थानीय आवश्यकतामा आधारित लगानीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।
उहाँले WASH क्षेत्रमा इनोभेटिभ फाइनान्सिङ मोडलको आवश्यकता औंल्याउँदै पब्लिक–प्राइभेट पार्टनरशिप (PPP), समुदाय नेतृत्वमा आधारित लगानी, परिणाममुखी वित्तीय प्रणाली र जलवायु उत्थानशील पूर्वाधारमा लगानी बढाउनुपर्ने धारणा राख्नुभयो।
स्थानीय तहको भूमिकालाई विशेष महत्व दिँदै सचिव पुडासैनीले सबल सुशासन, पारदर्शी खर्च प्रणाली, स्थानीय सरकारको स्वामित्व र समुदायको सक्रिय सहभागिताले मात्रै सेवा दिगो बन्ने बताउनुभयो। उहाँका अनुसार, केन्द्रबाट बजेट पठाउने मात्र होइन, स्थानीय तहले योजना निर्माणदेखि सञ्चालन, मर्मत सम्भार र अनुगमनसम्म नेतृत्व लिन सके मात्रै दीर्घकालीन परिणाम प्राप्त हुन्छ।

उहाँले सम्मेलनले WASH क्षेत्रमा देखिएको विश्वव्यापी वार्षिक अर्बौं डलरको वित्तीय अन्तर कम गर्न नयाँ साझेदारी, लगानीका नवीन मोडल र नीति संवादको रोडम्याप तयार गर्ने अपेक्षा व्यक्त गर्नुभयो। सम्मेलनको मूल उद्देश्य पनि नवप्रवर्तन, जलवायु उत्थानशीलता र समता सुनिश्चित गर्दै WASH क्षेत्रमा भविष्यको लगानी सुनिश्चित गर्नु रहेको आयोजकहरूले बताएका छन्।
सचिव पुडासैनीले सुरक्षित खानेपानी र सरसफाइ सेवा पूर्वाधारको विषय सँगै स्वास्थ्य, सामाजिक न्याय, जलवायु उत्थानशीलता र मानव मर्यादासँग प्रत्यक्ष जोडिएको विकासको आधारभूत अधिकार भएको उल्लेख गर्दै सबै सरोकारवालालाई साझा प्रतिबद्धताका साथ अघि बढ्न आह्वान गर्नुभयो।
सम्मेलनमा आज पनि विभिन्न समानान्तर प्राविधिक सत्रहरु हुनेछन्।



215 पटक हेरिएको 

