रुकुम पश्चिमका खानेपानी, सिंचाइ र स्वास्थ्य योजनाको मन्त्री बुढाद्वारा स्थलगत अनुगमन

  वास खबर समाचारदाता  173 पटक हेरिएको

रुकुम पश्चिम : कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा मन्त्री बिजया बुढाले रुकुम पश्चिममा सञ्चालित खानेपानी, सिंचाइ, तटबन्धन, सरसफाइ तथा स्वास्थ्य क्षेत्रका विभिन्न योजनाहरूको स्थलगत अनुगमन गर्नुभएको छ।

मन्त्री बुढाले जिल्लाको सानीभेरी गाउँपालिका र मुसिकोट नगरपालिकाका विभिन्न वडामा प्रदेश सरकार तथा अन्य साझेदार निकायमार्फत सञ्चालित योजनाहरूको अवलोकन गर्नुभएको हो। अनुगमनपछि सरोकारवालासँग भएको छलफलमा उहाँले आवश्यकताको आधारमा योजनाको प्राथमिकिकरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

उहाँले मन्त्रालय अहिले आगामी योजना निर्माणको चरणमा रहेकाले अत्यावश्यक योजनाहरूलाई उच्च प्राथमिकता दिइएको बताउनुभयो। यसअघि सरकारी लगानी भएर पनि अधुरा रहेका योजनालाई पहिलो प्राथमिकतामा राखेर सम्पन्न गराउन मन्त्रालय लागिपरेको उहाँको भनाइ थियो।

मन्त्री बुढाले विकास आयोजनाहरू गुणस्तरीय र समयमै सम्पन्न गर्न निर्देशन दिँदै, योजना हस्तान्तरणपछि यसको दिगोपना, संरक्षण र नियमित मर्मतसम्भारमा समुदायको सक्रिय भूमिका अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

उहाँका अनुसार विकासका काममा स्थानीय अपनत्व नहुँदासम्म अपेक्षित प्रतिफल प्राप्त हुन नसक्ने भएकाले उपभोक्ता समिति, स्थानीय तह र सरोकारवाला निकायले दीर्घकालीन सोचसहित योजनाको संरक्षणमा ध्यान दिन आवश्यक छ।

अनुगमनका क्रममा मन्त्री बुढाले सानीभेरी गाउँपालिका–१, ३ र ९ तथा मुसिकोट नगरपालिका–१ र १४ मा सञ्चालित विभिन्न योजनाको अवलोकन गर्नुभएको थियो। यस क्रममा उहाँले विशेषगरी खानेपानी तथा सिंचाइ, तटबन्धन, सरसफाइ र स्वास्थ्य क्षेत्रका योजनाहरूको अवस्था बुझ्नुभएको हो।

युनिसेफ नेपाल र रुकुमेली समाज विकास केन्द्रको साझेदारीमा कार्यान्वयन भएको सानीभेरी गाउँपालिका–१ चाईनाबगरस्थित किदरुख–साईरावन–चाईनाबगर खानेपानी योजना तथा मुसिकोट नगरपालिका–१४ स्थित सुवाखेला–कुमालगाउँ खानेपानी योजनाको समेत मन्त्री बुढाले अनुगमन गर्नुभएको छ।

चाईनाबगर क्षेत्रमा ८० घरधुरीमा एक घर एक धारा तथा चार सार्वजनिक स्थानमा शुद्धीकरण गरिएको खानेपानी पु¥याइएको छ। त्यस्तै मुसिकोट–१४ का ६० घरधुरी एक घर एक धारा कार्यक्रमबाट लाभान्वित भएका छन्।

स्थलगत अनुगमनका क्रममा मन्त्री बुढाले उपभोक्ता समिति, स्थानीय जनप्रतिनिधि, सानीभेरी गाउँपालिका, जिल्ला अस्पताल विकास समिति तथा खानेपानी, सिंचाइ तथा ऊर्जा विकास कार्यालयका प्रतिनिधिसँग अन्तरक्रिया समेत गर्नुभएको थियो।

उहाँले निर्माणाधीन जिल्ला अस्पताल भवनको निरीक्षण गर्दै सेवा प्रवाहको अवस्था, प्रगति र चुनौतीबारे जानकारी लिनुभएको थियो। साथै खानेपानी, सिंचाइ तथा ऊर्जा विकास कार्यालयमार्फत भइरहेका कामकारबाहीबारे समेत जानकारी लिएको जनाइएको छ।

अनुगमनमा खानेपानी, सिंचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख तारा केशर वाग्ले, रुकुमेली समाज विकास केन्द्रका संस्थापक अध्यक्ष नरबहादुर लम्साल, कार्यकारी निर्देशक नरेन्द्र ओलीलगायत सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो।

मन्त्री बुढाको सचिवालयका अनुसार सोमबार जाजरकोट जिल्लाका विभिन्न योजनाको पनि स्थलगत अनुगमन गरिनेछ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार