
जाजरकोट : कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा बिकास मन्त्री बिजया बुढाले जाजरकोट जिल्लाको नलगाड नगरपालिकामा सञ्चालित खानेपानी तथा सरसफाइ आयोजनाको अनुगमन गर्नुभएको छ ।
नलगाडमा मन्त्री बुढाले युनिसेफ नेपालको आर्थिक सहयोग तथा सोसेक नेपाल द्धारा सञ्चालित नलगाड नगरपालिका–१ को ठुलाबगर खानेपानी योजना र इस्लामिक रिलिफ नेपालको आर्थिक सहयोग तथा सोसेक नेपाल द्वारा सञ्चालित खानेपानी सरसफाइ तथा स्वच्छता पुनर्लाभ परियोजनाको नलगाड नगरपालिका–८ को कोटखोला बगराको खानेपानी योजनाहरूको स्थलगत अनुगमन गर्नुभएको हो।

मन्त्री बुढाले नलगाड नगरपालिका– १ मा रहेको ठुलाबगर खानेपानी योजना र नलगाड नगरपालिका वडा –८ मा रहेको कोटखोला बगरा टपु खानेपानी योजनाको निरीक्षण गर्नुभएको हो । अनुगमनका क्रममा उहाँले ती योजनाहरूको प्रभावकारिता र हालको प्रयोगको अवस्थाका बारेमा खानेपानी उपभोक्ता समितिका पदाधिकारी र स्थानीय उपभोक्तासँग अन्तरक्रिया गर्नुभएको थियो ।

उहाँले परियोजनाको लागत खर्च, दुवै योजनाहरूबाट प्रत्यक्ष रूपमा लाभ लिने लाभार्थीहरूको संख्या, हालको उपभोग अवस्था र यी आयोजनाहरूको दिगो व्यवस्थापनका बारेमा चासो व्यक्त गर्नुभयो । उहाँले उक्त कार्यका लागि स्थानीय उपभोक्ता समिति र परियोजना कार्यान्वयन गर्ने निकायको आगामी पहलका बारेमा समेत जानकारी लिनु भएको थियो ।
साथै, निर्माण सम्पन्न भएका एक घर एक धारालाई मन्त्रालयको प्रणालीमा अद्यावधिक गर्ने विषयमा पनि उहाँले विशेष चासो देखाउनुभयो। जवाफमा कार्यक्रमका तर्फबाट यी योजनाहरू आधिकारिक रूपमा समुदायलाई हस्तान्तरण गर्न बाँकी रहेको र हस्तान्तरण गरिसकेपछि मन्त्रालयको प्रणालीमा पनि अद्यावधिक गरिने विषयमा जानकारी दिइएको थियो ।



173 पटक हेरिएको 

