फोहोर प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा

  वास खबर समाचारदाता  128 पटक हेरिएको

सुर्खेत: सुर्खेतको भेरीगंगा नगरपालिका–१२ मा फोहोर प्रशोधन केन्द्र स्थापनाको काम काम अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकार र भेरीगंगा नगरपालिकाको आर्थिक सहयोगमा फोहोर प्रशोधन केन्द्र निर्माणको अन्तिम चरणमा पुगेको हो ।

भेरीगंगा, लेकबेसी तथा गुर्भाकोट नगरपालिकाको फोहोर एकै ठाउँमा राखेर प्रशोधन गर्न निर्माण हुन लागेको फोहोर प्रशोधन केन्द्रका लागि हालसम्म लेकबेसी नगरपालिकाले मात्र सम्झौता गरेको भेरीगंगा नगरप्रमुख यज्ञप्रसाद ढकालले जानकारी दिए ।

भौतिक संरचना निर्माणको काम पूरा भएको ढकाले जानकारी दिए । निर्माण भएका भवनमा पानी तथा बत्ती, पर्खालका काम बाँकी रहेको प्रमुख उनले बताए । उनले भने, ‘भौतिक पूर्वाधार तथा सडकको काम भए पनि अब कुहिने र नकुहिने फोहोरलाई प्रशोधन गर्ने उपकरण खरिद गर्ने रकम नहुँदा समस्या भएको छ । प्रदेश सरकारले सुरुमा सहयोग गरेको थियो । अहिले नगरपालिकाले एक्लै काम गर्नुपर्दा समस्या भएको छ ।’

भेरीगंगा नगरपालिका–१२ को रामजानकी सामुदायिक वनमा प्रशोधन केन्द्र रहेको छ । २० रोपनी जग्गामा उक्त संरचना निर्माण गरिएको छ । २०७९ चैतमा डीपीआर निर्माण गरेर फोहोर प्रशोधन केन्द्र निर्माणका लागि प्रदेश सरकार र नगरपालिकाको संयुक्त लगानीमा काम भइरहेको छ । फोहोर व्यवस्थापन र प्रशोधन गरी ग्यास उत्पादन गर्ने योजनासमेत रहेको उनको भनाइ छ ।

‘प्रशोधन केन्द्रमा फोहोर वर्गीकरण तथा प्रशोधनसमेत हुनेछन्,’ नगरप्रमुख ढकालले भने, ‘प्रशोधन केन्द्र पूर्णरूपमा सम्पन्न भई सञ्चालनमा आएपछि नगरपालिकाको आन्तरिक आम्दानीसमेत बढ्नेछ ।’ फोहोरलाई मोहोर बनाउन प्रशोधन केन्द्र निर्माण थालिएको उनको भनाइ छ । फोहोरलाई व्यवस्थापन गर्दै फोहोरबाट ग्यास र मल उत्पादन गर्ने लक्ष्य राखिएको ढकालले बताए ।

प्रशोधन केन्द्रसम्म पुग्ने पहुँचमार्ग निर्माणलगायतका काम सकिएको नगरपालिकाले जनाएको छ । अन्य संरचना पनि निर्माण भइसकेको छ । सुरुमा फोहोर प्रशोधन केन्द्र निर्माणका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० मा ५० लाख बजेट विनियोजन गरेको थियो । आर्थिक वर्षमा उक्त योजनाको निरन्तरताका लागि प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरेको छ । नगरपालिकाले ४९ लाख ५० हजार बजेट छुट्टाएर काम गरेको गरेको थियो ।

हाल सडक, पानीलगायतका कामका लागि भन्दै २०८२ वैशाख २४ गते सौरव निर्माण सेवासँग ९९ लाख ९८ हजार ३५३ रुपैयाँमा बाँकी काम भइरहेको छ । २०८२ असार १५ गतेसम्म काम पूरा गर्ने सम्झौतामा उल्लेख रहेको छ ।

फोहोरबाट ग्यास र मल उत्पादन गर्ने लक्ष्य नगरपालिकाले राखेको छ । पछिल्लो समय सहरीकरण बढ्दै छ । विकासका पूर्वाधार निर्माण भएसँगै गाउँसमेत सहरमा परिणत हुँदै छन् । जनसंख्या पनि बढ्दो छ । फोहोर पनि बढेको छ । यसरी उत्पादित फोहोर व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।कारोबार दैनिकबाट साभार।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार