
दाङ : घोराही उपमहानगरपालिकाको बजारी क्षेत्रमा देखिँदै गएको खानेपानी अभाव समाधान गर्ने उद्देश्यले सुरु गरिएको बबई लिफ्टिङ खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ ।
घोराही बजार तथा आसपासका क्षेत्रमा खानेपानी आपूर्ति सहज बनाउन बबई नदीको पानी लिफ्टिङ प्रविधिबाट घोराहीसम्म ल्याइएको हो । गत फागुन अन्त्यदेखि पानी आपूर्ति सुरु भइसकेको छ, जसले स्थानीयलाई ठुलो राहत दिएको छ ।
घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सहलगानीमा सञ्चालन गरिएको यस आयोजनामार्फत बबई नदीको पानी लिफ्टिङ गरेर वितरण प्रणालीमा जोडिएको छ । आयोजना सञ्चालनमा आएपछि पानी वितरणमा उल्लेखनीय सुधार आएको संस्थाका सचिव धर्मेन्द्र श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार हालसम्म आयोजनाको करिब ९७ प्रतिशत काम सम्पन्न भइसकेको छ भने बाँकी ३ प्रतिशत प्राविधिक काम चाँडै पूरा गरिनेछ ।
सचिव श्रेष्ठका अनुसार बबईबाट ल्याइएको पानी प्रयोगमा आएपछि उपभोक्तालाई आवश्यक मात्रामा नियमित रूपमा पानी वितरण गर्न सकिएको छ । ‘पहिलेको तुलनामा अहिले वितरण धेरै सहज भएको छ, उपभोक्ताले पर्याप्त पानी पाउन थालेका छन्,’ उहाँले भन्नुभयो। यसले घोराही क्षेत्रमा वर्षौंदेखि झेलिँदै आएको खानेपानी संकटलाई धेरै हदसम्म कम गरेको छ । यो आयोजना निर्माणका लागि घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले २०७९ असार २९ गते भीमेश्वर ड्रिलिङ एन्ड निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो ।
४९ करोड ८५ लाख ४९ हजार ६ सय ७५ रुपैयाँ ५१ पैसा लागतमा निर्माण सुरु गरिएको थियो । यो आयोजना २०८२ असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । यद्यपि, केही प्राविधिक कारणले काममा केही ढिलाइ हुन पुगेको संस्थाले जनाइएको छ । हाल बबई लिफ्टिङ प्रणाली मार्फत प्रतिसेकेन्ड एक सय १० लिटर पानी घोराही क्षेत्रमा ल्याइएको छ । यस आयोजना अन्तर्गत विभिन्न स्थानमा संरचना निर्माण गरिएको छ । घोराही उपमहानगरपालिका–१४ झिंगौरामा ओभरहेड ट्यांकी तथा रिजर्भवयर ट्यांकी निर्माण गरिएको छ भने वडा नं। ७ शुक्रबार क्षेत्रमा फिल्टरसहितको रिजर्भवयर ट्यांकी निर्माण गरिएको छ ।
त्यस्तै, बेसाही क्षेत्रमा पनि अर्को रिजर्भवयर ट्यांकी निर्माण गरिएको छ । शुक्रबार क्षेत्रमा बोरिङ र सम्पवेल प्रणाली मार्फत जमिनमुनिको पानी निकाल्ने व्यवस्था गरिएको छ । त्यहाँ ‘र्यापिड स्यान्ड फिल्टर’ प्रविधि प्रयोग गरेर बालुवा छानेर पानी शुद्धीकरण गरिन्छ । बोरिङबाट निकालिएको पानीलाई प्रेसर फिल्टरमार्फत सफा गरिन्छ र त्यसपछि रिजर्भवयर तथा ओभरहेड ट्यांकी हुँदै उपभोक्ताका धारासम्म पुर्याइएको छ । पाइपलाइन प्रणाली मार्फत शुक्रबारमा रहेको करिब ६ लाख लिटर क्षमताको रिजर्भवयर ट्यांकीमा फिल्टर गरिएको पानी संकलन गरिन्छ ।
त्यहाँबाट बेसाही र झिंगौराका ट्यांकीहरूमा पानी पठाइन्छ । त्यसपछि गुलरिया, घोराही–१४ शिव मन्दिरनजिक, घोराही–१५ अद्वैत संस्थान क्षेत्र, घोराही–१८ ढोडेनीलगायतका स्थानमा रहेका ओभरहेड तथा रिजर्भवयर ट्यांकीहरूमा पानी सञ्चित गरिन्छ र अन्ततस् वितरण गरिन्छ । आयोजना सम्पन्न भएसँगै सेवा विस्तार गर्ने योजना पनि रहेको संस्थाले जनाएको छ । यस परियोजनाले आगामी वर्षहरूमा बढ्दो जनसंख्यालाई ध्यानमा राखेर दीर्घकालीन समाधान दिने अपेक्षा गरिएको छ । यस आयोजनाका लागि नेपाल सरकारले कुल लागतको ७० प्रतिशत, अर्थात् ३४ करोड ८९ लाख रुपैयाँ अनुदान प्रदान गरेको छ ।
बाँकी रकम उपभोक्ता संस्था र स्थानीय स्रोतबाट व्यवस्थापन गरिएको हो । संस्थाका कोषाध्यक्ष धुव्र केसीका अनुसार यो आयोजना घोराहीका लागि गौरवको परियोजना हो । उहाँले भन्नुभयो ‘यो योजना भविष्यलाई ध्यानमा राखेर बनाइएको हो । आयोजना पूर्ण रूपमा सञ्चालनमा आएपछि आगामी ३५ देखि ४० वर्षसम्म खानेपानीको समस्या समाधान हुने अपेक्षा गरेका छौं ।’ उहाँका अनुसार अहिलेको अवस्थामा मात्र होइन, भविष्यमा करिब १२ हजार नयाँ घरधुरी थपिँदा पनि यसले पर्याप्त पानी आपूर्ति गर्न सक्नेछ ।
हाल घोराही क्षेत्रमा आठ हजारभन्दा बढी घरधुरीमा व्यक्तिगत धारा जडान भइसकेका छन् । आयोजना पूर्ण रूपमा सञ्चालनमा आएपछि थप घरधुरीलाई पनि सेवा विस्तार गरिनेछ । स्थानीयले पनि यस आयोजनालाई अत्यन्तै महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएका छन् ।
बबई लिफ्टिङ खानेपानी आयोजना घोराही क्षेत्रका लागि दीर्घकालीन र प्रभावकारी समाधानका रूपमा लिएको खबर कारोबारले छापेको छ। प्राविधिक काम पूरा भएपछि यसले अझ व्यवस्थित, नियमित र भरपर्दो पानी आपूर्ति सुनिश्चित गर्ने विश्वास लिइएको संस्थाले जनाएको छ ।


111 पटक हेरिएको 

