नेपाल नगरपालिका संघको बार्षिकोत्सवमा ५ विधामा ७ नगरपालिका पुरस्कृत

  वास खबर समाचारदाता  128 पटक हेरिएको

काठमाडौ : नेपाल नगरपालिका संघले देशभरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी २९३ स्थानीय तहमध्ये विभिन्न पाँच विधामा उत्कृष्ट कार्य गर्ने सात वटा स्थानीय तहलाई पुरस्कृत गरेको छ।

नेपाल नगरपालिका संघको ३३ बार्षिकोत्सवको अवसरमा बिहीबार काठमाडौ आयोजित कार्यक्रममा सामाजिक विकासतर्फ मटिहानी नगरपालिका, सहरी योजना तथा पूर्वाधार विकास तर्फ पोखरा महानगरपालिका र बुढानिलकण्ठ नगरपालिका, वातावरण, संस्कृति तथा पर्यटनतर्फ गोदावरी नगरपालिका र इलाम नगरपालिका लाई पुरस्कृत गरिएको हो।

यस्तै स्थानीय आर्थिक विकासतर्फ मन्थली नगरपालिका (रामेछाप) तथा संस्थागत विकास, सेवा प्रवाह एवं वित्तीय सुशासनतर्फ हलेसी तुवाचुङ नगरपालिकालाई उत्कृष्ट घोषणा गर्दै पुरस्कार प्रदान गरिएको छ।

बार्षिकोत्सव समारोहमा प्रतिनिधिसभाका सभामुख डोल प्रसाद अर्यालले पुरस्कृत नगरपालिकाहरुलाई सम्मान प्रदान गर्नुभयो।

नेपाल नगरपालिका संघले सबै महानगररउपमहानगर र नगरपालिकाहरुलाई पुरस्कार सम्बन्धी प्रश्नावली फारम उपलब्ध गराएको थियो। फारम भरेर २०८२ फागुन २६ गते अपरान्ह ५ : ०० बजेसम्म अनलाईन फारम भरेर पठाएका नगरपालिकाहरु मध्येबाट मूल्याङ्कन समितिले छनौट गरी पुरस्कृत गरिएको नगरपालिका संघले जनाएको छ ।

कार्यक्रममा संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले सम्मानित नगरपालिकाहरुले संस्कृति संरक्षण तथा पूर्वाधार विकास, पर्यटन, शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण, बालअधिकार संरक्षण, सामाजिक समावेशीकरण, आर्थिक विकास, सुशासन, वातावरण संरक्षण जस्ता क्षेत्रमा प्रभावकारी कार्य गरेकाले विभिन्न विधामा छनौट गरी सम्मान प्रदान गरिएको बताउनुभयो।

कार्यक्रममा सार्वजनिक वित्त व्यवस्थापनको क्षेत्रमा प्रदेश तथा स्थानीय सरकारबीच साझा जिम्मेवारी तथा नगरपालिकाहरूमा सार्वजनिक–निजी साझेदारी सुदृढीकरण लगायत बिषयमा विज्ञ सहितको प्यानल छलफल समेत गरिएको थियो।

नगरपालिकाहरूको राष्ट्रिय आवाजका रूपमा मुआनले आफ्नो विश्वसनीयता सफलतापूर्वक स्थापित गरेको छ।

नेपाल नगरपालिका संघ सन् १९९४ मा स्थापना भएको नेपालभरिका सम्पूर्ण नगरपालिकाहरूको प्रतिनिधित्व गर्ने छाता संगठन हो। यो संस्था राष्ट्रिय निर्देशन ऐन, २०१८ (सन् १९६१) अन्तर्गत दर्ता भएको नाफारहित तथा गैरराजनीतिक संस्था हो। नेपालका सबै २९३ नगरपालिका, महानगरपालिका तथा उपमहानगरपालिका यसका सदस्य रहेका छन्।

यस संस्थाको मुख्य उद्देश्य वकालत तथा पैरवी, सञ्जाल विस्तार, र नगरपालिकाहरूलाई परामर्शमूलक सहयोग प्रदान गर्दै उनीहरूको साझा हितको संरक्षण गर्नु हो।

स्थापनाकालदेखि नै नेपाल नगरपालिका संघले नीति तथा कानुन निर्माण प्रक्रिया, ऐन, नियमावली, निर्देशिका तथा सरकारी नीतिहरूको स्थानीय तहमा कार्यान्वयनमा सहयोग पुर्‍याउँदै सरकारको महत्वपूर्ण साझेदार का रूपमा भूमिका निर्वाह गर्दै आएको छ।

नेपालको नयाँ संविधानमा अधिकार सम्पन्न स्थानीय शासन प्रणाली सुनिश्चित गर्ने, स्थानीय सरकारको पुनःसंरचना अन्तर्गत शहरी तथा ग्रामीण नगरपालिकाहरूको संरचना निर्माण गर्ने, तथा नयाँ संघीय संरचनाअनुसार नगरपालिकाहरूका लागि नमूना कानुनहरू तयार गर्ने सन्दर्भमा पनि नेपाल नगरपालिका संघले सक्रिय पैरवी र वकालत गरेको थियो।

संघले धेरै पुस्तक तथा प्रकाशनहरू प्रकाशन गर्न, र शहरी क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूबीच प्रभावकारी सूचना प्रवाह सुनिश्चित गर्न समेत सफलता हासिल गरेको छ। नवगठित तथा पुराना नगरपालिकाहरूको क्षमता विकासका क्षेत्रमा ज्ञान आदान–प्रदान र प्राविधिक विशेषज्ञता उपलब्ध गराउँदै सहयोग गर्दै आएको छ।

फोटोहरु :लोक चन्द्र थापा/वास खबर


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार