
तनहुँ : बजेटको अभाव र सरकारी परिपत्रले गर्दा तनहुँ र नवलपुरका २३ वटा खानेपानी योजनाहरू अधुरै रहेका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँले हेर्दै आएका यी दुवै जिल्लाका महत्वपूर्ण योजनाहरू बजेट निकास हुन नसक्दा बीचैमा रोकिएका हुन् ।
कार्यालयका प्रमुख एवम् सिनियर डिभिजन इन्जिनियर शम्भुराज खनालका अनुसार तनहुँका १४ र नवलपुरका नौ गरी कुल २३ वटा खानेपानी योजनाहरू बजेटको सकसमा परेका हुन् । यी सबै ‘क्रमगत’ (बहुवर्षीय) योजनाहरू हुन् । ती योजनाहरूका लागि बजेट विनियोजन गरिए पनि पछिल्लो समय बजेट अभावका कारण कार्यान्वयन अघि बढ्न सकेको छैन ।
प्रमुख खनालले भन्नुभयो, “गत भदौमा भएको ‘जेनजी’ आन्दोलनपछि सरकारसँग बजेट अभाव हुँदा न्यून बजेट भएका योजनाहरू तत्काल कार्यान्वयन नगर्नु भन्ने परिपत्र आएको छ । जसले गर्दा काम अन्तिम चरणमा पुगेका र भुक्तानी दिनुपर्ने योजनाहरू प्रभावित भएका छन् ।”
उहाँका अनुसार ती योजनाहरूमध्ये प्रत्येकलाई १० देखि ३० लाख रुपियाँसम्म भुक्तानी दिनुपर्ने दायित्व छ । समग्रमा ती योजनाहरू सम्पन्न गर्न करिब पाँच करोड रुपियाँ बजेट अपुग रहेको कार्यालयले जनाएको छ । बजेटको अभावमा काम रोकिएपछि उपभोक्ताहरू स्वच्छ खानेपानीको सुविधाबाट वञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको छ ।
यसैबिच, कार्यालयले तनहुँ र नवलपुरका विभिन्न लिफ्ट खानेपानी आयोजनाहरूलाई ५८ लाख रुपियाँ विद्युत् महसुल अनुदान उपलब्ध गराएको छ । कार्यालयले चालू आर्थिक वर्षमा एक सय ११ वटा योजनालाई उक्त अनुदान वितरण गरेको हो । ‘लिफ्ट खानेपानी आयोजनामा विद्युत् महसुल अनुदानसम्बन्धी मापदण्ड, २०७९’ अनुसार उपभोक्ता समितिहरूलाई खपतका आधारमा शतप्रतिशतदेखि १० प्रतिशतसम्म अनुदान प्रदान गरिएको प्रमुख खनालले जानकारी दिनुभयो ।यो खबर गोरखापत्रबाट साभार गरिएको हो।


481 पटक हेरिएको 

