
स्याङ्जा : स्याङ्जाको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको करिब ३० प्रतिशत मात्रै वित्तीय प्रगति देखिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्त सम्म खर्च न्युन देखिएको हो । विनियोजित कुल ४१ करोड १९ लाख ५० हजार बजेटमध्ये १२ करोड ३१ लाख ५४ हजार खर्च भएको हो ।
चालुतर्फको तीन करोड ४२ लाख ५० हजारमध्ये एक करोड ११ लाख ७ हजार खर्च भएको छ भने पुँजीगततर्फ ३७ करोड ७७ लाख कुल बजेटमध्ये ११ करोड २० लाख ४७ हजार खर्च भएको डिभिजन प्रमुख किरण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार वित्तीय प्रगति ३० प्रतिशतको हाराहारीमा देखिएको भए पनि भौतिक प्रगति भने ६० प्रतिशत रहेको छ ।
स्याङ्जा र कास्की गरी दुई जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले ३७ करोड ७७ लाखको लागतमा ३४७ योजनाहरु सञ्चालन गरेको छ ।
स्याङ्जातर्फ २६ करोड १२ लाखमा २२८ वटा योजना सञ्चालनमा ल्याएको कार्यालयले कास्की जिल्लातर्फ ११ करोड ३५ लाखको लागतमा ११४ वटा र ३० लाखको लागतमा पाँच वटा संयुक्त जिल्लामा गरी ३४७ खानेपानीका योजना कार्यान्वयनमा रहेका छन् ।
दुबै जिल्लामा सञ्चालनमा रहेका अधिकांश योजनाहरुअन्तर्गत खानेपानी ट्याङ्की र धारा जडान गर्ने कार्य तीव्र रुपमा भइरहेको कार्यालय सूचना अधिकारी तथा इन्जिनियर कमल बरालले जानकारी दिनुभयो ।
तोकिएकै समयसिमा भित्र योजना सम्पन्न गर्न ठेक्का लगाएका र समितिमार्फत निर्माण भइरहेको योजनाहरुको काम सक्नेगरी कार्यालयले समन्वय गरिरहेको इन्जियिनर बरालको भनाइ छ । चालु आर्थिक वर्षमा करिब ३५ सय खानेपानीका नयाँ धारा जडान गर्ने कार्यालयले लक्ष्य लिएको छ ।
दुई जिल्लाको अवस्था हेर्ने जिम्मेवारी पाएको भए पनि स्याङ्जामा योजनाहरु निरन्तर अगाडि बढिरहेको कार्यालयले जनाएको छ।गोरखापत्रबाट साभार।


144 पटक हेरिएको 

