खानेपानी सञ्चालक साझेदार सञ्जालका सदस्यहरुको लागि दुईदिने क्षमता अभिवृद्धि तालिम

  वास खबर सम्बाददाता  377 पटक हेरिएको
🔗
36
Shares

ललितपुर : ललितपुरको गोदावरी नगरपालिका भित्र खानेपानी सेवा प्रदान गर्ने उपभोक्ता समितिहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुईदिने तालिम सम्पन्न भएको छ। २०८३ वैशाख ३ र ४ गते आयोजना गरिएको उक्त तालिममा गोदावरी खानेपानी सञ्चालक साझेदार सञ्जालका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।

गोदावरी प्रवाल्य कार्यक्रमअन्तर्गत नगरपालिकाद्वारा गठन गरिएको उक्त सञ्जालमार्फत सेवा प्रदायक संस्थाहरूको क्षमता सुदृढ गर्ने लक्ष्य राखिएको छ। तालिमका क्रममा खानेपानी तथा सरसफाइ नियमावली, २०८१ अनुसार निर्धारण गरिएका आठ कार्यसम्पादन सूचक, सेवा क्षेत्र, पर्याप्तता, गुणस्तर, विश्वसनीयता, गैर महसुल पानी, सञ्चालन अनुपात, मिटरिङ अनुपात तथा गुनासो व्यवस्थापनका आधारमा समितिहरूको वर्तमान अवस्था मूल्यांकन गरिएको थियो।

छलफलका क्रममा सेवा सुधारका लागि तीन प्रमुख पहलहरू अघि सारिएका छन्। खानेपानी शुद्धिकरणका लागि नगरपालिकाबाट बजेट सुनिश्चित गर्ने, क्लोरिनयुक्त पानीबारे रहेका भ्रम हटाउन स्वास्थ्य तथा शिक्षा शाखासँग समन्वय गर्ने, तथा खानेपानीको गुणस्तरबारे समितिहरूबीच नियमित छलफल गर्ने विषयमा सहमति गरिएको छ।

त्यसैगरी, पम्पमार्फत पानी उपभोग गर्ने उपभोक्ताले तिर्ने विद्युत महसुलमा देखिएको असमानता हटाउन नगरपालिकाले विद्युत प्राधिकरणसँग समन्वय गर्ने निर्णयसमेत गरिएको छ।

तालिमको सहजीकरण वाटरएड नेपालका कार्यक्रम व्यवस्थापक आनन्द गौतमले गर्नुभएको थियो। उहाँले सञ्जाल गठनको उद्देश्य, यसको अनुभव तथा यसले सेवा प्रदायक संस्थाका कर्मचारी र व्यवस्थापकहरूको क्षमता विकासमा पु¥याउने योगदानबारे जानकारी दिनुभयो। साथै, कार्यसम्पादन सूचकका आधारमा समितिहरूलाई आवश्यक क्षमता विकास तालिम तथा सुधारका क्षेत्रहरू पहिचान गरिने उहाँले बताउनुभयो।

कार्यक्रमको व्यवस्थापन गोदावरी नगरपालिका वातावरण शाखा प्रमुख तथा खानेपानी सम्पर्क व्यक्ति इन्जिनियर अनिता वोहोराले गर्नुभएको थियो। समापन सत्रमा उहाँले बाँकी रहेका समितिहरूलाई पनि छिट्टै सञ्जालमा आबद्ध गरिने र क्षमता विकासका गतिविधिहरू निरन्तर सञ्चालन गरिने जानकारी दिनुभयो।

कार्यक्रममा सञ्जाल संयोजक तथा ठैव खानेपानी समितिका अध्यक्ष महेन्द्र श्रेष्ठले खानेपानीको गुणस्तर सुधारमा अझै काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै स्रोत घट्दै गएकाले मागअनुसार पानी वितरण गर्न कठिनाइ भइरहेको बताउनुभयो। उहाँले गुणस्तर कायम राख्न समुदायस्तरबाटै पहल आवश्यक रहेकोमा जोड दिनुभयो।

फोटोहरु : आनन्द गौतम


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार