धनुषाधाम नगर क्षेत्रलाई सफा र सुन्दर क्षेत्र बनाईदै

धनुषा : धनुषाधाम नगर क्षेत्रलाई सफा र सुन्दर क्षेत्र बनाई सबैको आकर्षणको केन्द्र बनाइने भएको छ । यसका लागि धनुषाधाम नगरपालिकाले बजार क्षेत्र र धनुष मन्दिर आसपास तथा नगरका वडाहरुमा सरसफाइ कार्यक्रम अगाडि बढाइसकेको नगरपालिकाका प्रमुख बालेश्वर मण्डलले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार नगरक्षेत्रका फुसका टहरा हटाई सरसफाइको कामलाई तिब्रता दिन सात दिने सूचना जारी गरिसकेको छ ।
धनुषाधाम मन्दिर तथा बजार परिसर क्षेत्रमा आयोजित वृहत सरसफाइ कार्यक्रममा बोल्दै नगर प्रमुख मण्डलले आफू र आफ्नो घर आसपासको वातावरण सरसफाइका लागि आग्रह गरिएको र यस कार्यलाई अटेर गर्नेलाई कानुन बमोजिम कार्वाही गर्ने बताउनुभयो । उहाँले सरसफाइका सवालमा अन्य जिल्लाकोको नगरपालिकाको तुलनामा धनुषाधामलाई उत्कृष्ट बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

 

खुल्ला दिसामुक्त अभियानमा घरायसी शौचालय बनाउन राष्ट्रिय निर्देशिका अनुसार प्रत्यक्ष रुपमा नगरले कुनै रकम नलगाउने र यो व्यक्तिको आधारभूत आवश्यकता भएकाले सबै घरपरिवारले अनिवार्य शौचालय बनाउनुपर्ने उहाँले बताउनुभयो ।

एक घर एक शौचालय अभियानलाई अटेर गरी खुल्ला ठाउँमा शौच गर्ने काम जारी राखेमा विहान साँझ समुदायको समेत सहभागितामा पोखरी, बगैंचा लगायतका क्षेत्रमा प्रहरी सहितको गस्ती सञ्चालन गर्ने उहाँले बताउनुभयो । उहाँले नगरपालिकाको अभियानलाई सफल बनाउन सम्पूर्ण वडाध्यक्षहरुलाई पनि आफ्नो वडाका सबै घरमा शौचालय निर्माण गरी खुला दिसामुक्त घोषणा गर्न निर्देशन दिइसकेको उहाँले बताउनुभयो ।

वडा नं. ३ का राज किशोर साह र वडा नं. ४ का राम परिक्षण यादबले शौचालय बनाउन बाँकी घरलाई कडाई गरी यही फागुन भित्रै खुल्ला दिसामुक्त घोषणा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस्तै इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरिक्षक प्रकाश दाहाल र सशस्त्र प्रहरी निरिक्षक सुवर्ण पोखरेलले नगर र वडा कार्यालयबाट सरसफाइका लागि गरिने अनुरोधमा आफ्नो कार्यालयको साथ र सहयोग रहने बताउनुभयो ।

 

यसैवीचे धनुषाधामका साविकका गाविस यज्ञभुमी, धनुषा गोविन्दपुर, धनुषाधामलाई फागुन मसान्तसम्ममा खुल्ला दिसामुक्त घोषणा गर्न सकिने खुला दिसामुक्त अभियानको सहजीकरण गरिरहेका कार्यक्रम संयोजक विष्णु कुमार भण्डारीले बताउनुभयो । उहाँले उमाप्रेमपुरमा केही बढी संख्यामा शौचालय बन्न बाँकी रहेकाले केही ढिलो हुन सक्ने बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार