
जुम्ला : वातावरणीय प्रभाव मूल्यांकन बिना खनिएका सडकले वातावरणको दोहन मात्र नभई सयौं पानीका मुहान सुक्ने अवस्थासमेत सिर्जना गरेका छन् । जसका कारण पछिल्ला वर्षहरूमा गाउँघरमा खानेपानीको अभाव बढ्दै गएको छ ।
दुई वर्षअघि किर्डाक नेपालद्वारा सञ्चालित ‘सुमत्रा परियोजना’ले जुम्लाको पातारासी गाउँपालिकामा गरेको अनुसन्धानले अव्यवस्थित सडक निर्माणका कारण पानीका मुहान सुक्न थालेको तथ्य उजागर गरेको थियो । परियोजनाले संकलन गरेको तथ्यांकअनुसार पातारासी गाउँपालिकाका ७ वडामा ४ सय ९५ वटा पानीका स्रोत भेटिएका थिए ।
तीमध्ये १ सय २९ वटा मुहान मात्र नियमित प्रयोगमा रहेका छन् भने ३ सय ६५ वटा मुहान क्रमशस् सुक्दै गएको अध्ययनले देखाएको छ । कुल ४ सय ९५ पानी स्रोत रहेको पातारासीमा २ वटा नदी, २ सय ४१ वटा मूल, २ सय ३३ वटा साना खोल्सा र १९ वटा ठूला खोल्सा रहेका छन् । यहाँ कतिपय मुहान पूर्ण रूपमा सुकेका छन् भने कतिपय सुक्ने क्रममा छन् ।
पानीका स्रोत संरक्षणका लागि पातारासी गाउँपालिकाले नियमित रूपमा ‘जल कचहरी’ सञ्चालन गर्दै आएको छ । पातारासीको उदाहरणले देखाएजस्तै जिल्लाका आठै पालिकामा पानीका मुहान सुक्दै जाने क्रम बढ्दो छ । यस समस्यालाई मध्यनजर गर्दै जुम्लामा पानीका स्रोत संरक्षणका लागि भू–तथा जलाधार व्यवस्थापन कार्यालयले अभियान सुरु गरेको छ ।
यसै क्रममा कर्णाली प्रदेशको मुख्य मूलको स्रोत पहिचान गरी पुनर्भरण योजना तयारी सम्बन्धमा सामुदायिक वन उपभोक्ता समिति तथा खानेपानी उपभोक्ता समितिसँग जुम्लामा अन्तरक्रिया गरिएको छ । भू–तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लाको समन्वय तथा उद्योग, पर्यटन तथा वातावरण मन्त्रालय अन्तर्गत प्रदेश वन निर्देशनालय, सुर्खेतको आयोजनामा भएको उक्त कार्यक्रममा प्रदेश वन निर्देशक शेरबहादुर श्रेष्ठले पछिल्लो समय पानीका स्रोतहरू सुक्दै गएकाले स्रोत संरक्षण तथा दीगो व्यवस्थापनमा प्रदेश र स्थानीय तहले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
उहाँका अनुसार जमिनमा पानी सोसिने क्षमता बढाउन खाडल खन्ने, चेकड्याम निर्माण गर्ने तथा वर्षाको पानी संकलन गर्ने उपाय प्रभावकारी हुन सक्छन् । भू–तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लाका प्रमुख लोकेन्द्र भण्डारीले प्राकृतिक स्रोत संरक्षणका लागि वातावरणमैत्री विकासमा जोड दिनुपर्ने बताउनुभयो।
मुहान पुनर्भरण क्षेत्रमा वृक्षरोपण, माटोको पानी धारण क्षमता वृद्धि, भूक्षय नियन्त्रण, जमिन सम्याउने तथा ढलान स्थिरीकरण जस्ता कार्य अत्यन्त महत्त्वपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो।
भूगर्भविद् बद्री बुढाथोकीले पानीका स्रोतको दीर्घकालीन संरक्षणका लागि स्थानीयस्तरमै उपभोक्ता समिति गठन गरी नियमित अनुगमन र संरक्षण कार्य अघि बढाउन सुझाव दिनुभयो। उहाँले पानीका स्रोत घट्दै गएको अवस्थामा पुनर्भरण योजना निर्माण अपरिहार्य भएको उल्लेख गर्दै चरिचरण नियन्त्रण र वन क्षेत्र संरक्षणलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। जुम्लामा पानीका स्रोत संरक्षण र पुनर्भरणका लागि समुदायको सक्रियता, वैज्ञानिक योजना निर्माण तथा सम्बन्धित निकायबीच समन्वय अपरिहार्य रहेको उहाँको भनाइ छ ।
नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्णप्रसाद चौलागाईंले स्थानीय तहले सडक निर्माणलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो ‘यहाँका कुनै पनि पालिकाले सडक निर्माणअघि वातावरणीय प्रभाव मूल्यांकन अनिवार्य गर्ने नीति बनाउनुपर्छ । वनजंगलमा जथाभावी डोजर चलाउने प्रवृत्ति रोक्न सके मात्र पानीका स्रोत संरक्षण सम्भव हुन्छ ।’


238 पटक हेरिएको 

