
काठमाडौ : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा कुच्चेको, टालिएको, चुहिएको, पुरानो एवं अपारदर्शी जारमा प्रशोधित पिउने पानी उत्पादन तथा वितरण नगर्न निर्देशन दिएको छ । प्रशोधित पिउने पानी बजारमा पुरानो, कुच्चेको टालिएको, चुहिएको एवं अपारदर्शी जारमा नपठाउन प्रशोधित पिउने पानी उत्पादक, दुवानीकर्ता एवं विक्रेतालाई विभागले निर्देशन दिएको हो ।
गर्मी तथा वर्षायाममा झाडापखाला लगायत विभिन्न रोगका हानीकारक सुक्ष्म जीवहरुको संक्रमण बढ्न जाने र संक्रमित पानीको प्रयोगबाट मानिसमा रोगको संक्रमण हुने सम्भावना भएकाले जारकाे पानी विक्री वितरणमा कडाइ गरेकाे हाे ।
विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०६१ र नियमावली, २०२७ तथा प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका, २०७४ अनुसार उत्पादन तथा बिक्री वितरण गर्न सबै सरोकारवालालाई आग्रह गरेको छ ।सूचनाको वर्खिलाप गरेमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०२१ बमोजिम कारवाही हुने विभागले जनाएको छ ।
सूचनामा भनिएको छ,‘बजारमा पुरानो, कुच्चयको टालिएको, चुहिएको एवं अपारदर्शी जारमा प्रशोधित पिउने पानी उत्पादन तथा वितरण भएको जनगुनासो प्राप्त हुन आएकोले त्यस्ता कार्य नगर्न नगराउनु हुन सबै प्रशोधित पिउने पानी उत्पादक, डुवानीकर्ता एवं विक्रेताहरुलाई यसै सूचनाद्वारा सूचित गरिन्छ यस सूचनाको वर्खिलाप कार्य गरेमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०२१ बमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराईन्छ।’



98 पटक हेरिएको 

