‘शून्य फोहोर’ अभियान मार्फत खानेपानी व्यवस्थापन सुधार्ने पहल, उपभोक्ता समितिलाई क्षमता अभिवृद्धिमा जोड

  प्रकाश न्यौपाने  154 पटक हेरिएको

नवलपरासी : पश्चिम नवलपरासी जिल्लामा खानेपानी तथा सरसफाइ व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले ‘शून्य फोहोर’ अभियानलाई केन्द्रमा राख्दै उपभोक्ता समितिका पदाधिकारीहरूको क्षमता अभिवृद्धिमा जोड दिइएको छ। खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल, नवलपरासीले स्थानीय तहसँगको सहकार्यमा यस्तो पहल अघि बढाएको हो।

खानेपानी तथा सरसफाइ कार्यालय परासीको सहयोगमा बुधबार भूमहीमा आयोजित अभिमुखीकरण कार्यक्रममा जिल्लाभरिका उपभोक्ता समितिका पदाधिकारी र व्यवस्थापकहरूलाई संस्थागत सुदृढीकरणसँगै ‘शून्य फोहोर’ अभियान प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा प्रशिक्षण दिइएको थियो। कार्यक्रममा जिल्लाका सातै पालिकाबाट ३१ वटा खानेपानी उपभोक्ता संस्थाका ७६ जना प्रतिनिधिहरुको सहभागितामा शुन्य फोहोर अभियानका बिषयमा बिस्तृत छ्लफलसमेत गरिएको थियो।

महासंघका जिल्ला अध्यक्ष देवीदत्त सापकोटाले खानेपानी व्यवस्थापनलाई दिगो र प्रभावकारी बनाउन स्थानीय तहमा सक्षम नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै ‘शून्य फोहोर’ अभियानलाई व्यवहारमै उतार्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो। “पदाधिकारीहरूबीच अनुभव आदानप्रदान, सहकार्य र सिकाइ बढाउँदै अभियानलाई समुदायसम्म पुर्‍याउने लक्ष्य राखिएको छ,” उहाँले भन्नुभयो।

अभिमुखीकरणमा खानेपानी तथा सरसफाइसम्बन्धी कानुनी प्रावधान, उपभोक्ता समितिको भूमिका र जिम्मेवारी, मुहानदेखि उपभोक्ता तहसम्म सरसफाइ कायम गर्ने उपाय, पानीजन्य रोगको रोकथाम तथा सुरक्षित खानेपानीको पहुँच विस्तारका विषयमा विस्तृत जानकारी दिइएको थियो। साथै ‘शून्य फोहोर’ अभियानलाई स्थानीय स्तरमै कार्यान्वयन गर्ने व्यवहारिक उपायहरू पनि प्रस्तुत गरिएको थियो।

कार्यक्रममा बर्दघाट नगरपालिकाका स्वास्थ्य तथा खानेपानी शाखा प्रमुख कृष्णहरि पौडेलले खानेपानी र जनस्वास्थ्यबीचको प्रत्यक्ष सम्बन्धबारे प्रकाश पार्दै सुरक्षित पानी प्रयोगले रोग न्यूनीकरणमा ठूलो योगदान पुर्‍याउने बताउनुभयो। बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका व्यवस्थापक विष्णु भुसालले खानेपानी सुरक्षा योजना र संस्थागत सुदृढीकरणका उपायबारे सहजीकरण गर्नुभयो। त्यस्तै, खानेपानी तथा सरसफाइ कार्यालय परासीका इन्जिनियर धीरज तामाङ र विधान कँडेलले ‘शून्य फोहोर’ अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक प्रविधि, व्यवस्थापनका बिषयमा सहजीकरण गर्दै खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाहरुको सामुदायिक सहभागितामा जोड दिनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यालय प्रमुख दिनेश प्रसाद शाहले ‘शून्य फोहोर’ अभियानले वातावरण संरक्षण, जनस्वास्थ्य सुधार र दिगो विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउँदै यसको सफल कार्यान्वयनका लागि उपभोक्ता तहबाटै सक्रियता आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँका अनुसार संघीय सरकारमार्फत सञ्चालित तराई–मधेस क्षेत्रका १६ वटा खानेपानी आयोजना र ९ वटा जलवायु अनुकूलन आयोजना बजेट अभावका कारण प्रभावित बनेका छन्। प्रदेश स्तरका आयोजनाहरूमा पनि पर्याप्त बजेट विनियोजन नहुँदा निर्माण कार्य अपेक्षित गतिमा अघि बढ्न सकेको छैन।

लुम्बिनी प्रदेशका महासंघ अध्यक्ष थानप्रसाद गैरेले सुरक्षित खानेपानीसँगै सरसफाइलाई समान प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै उपभोक्ता समितिहरूले गुणस्तर कायम गर्न विशेष ध्यान दिनुपर्ने बताउनुभयो।

महासंघका जिल्ला सचिव मुक्तिबहादुर भण्डारीले शुन्य फोहोर अभियानले उपभोक्ता संस्थाहरूबीच सहकार्य, सिकाइ र दिगो व्यवस्थापनको आधार बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार ‘शून्य फोहोर’ अभियानलाई समुदायस्तरसम्म विस्तार गर्न सके वातावरणीय स्वच्छता र स्वास्थ्य सुधारमा उल्लेखनीय उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ।

शुन्य फ़ोहोर अभियानले स्थानीय तहमा खानेपानी तथा सरसफाइ व्यवस्थापनलाई संस्थागत रूपमा मजबुत बनाउँदै दिगो विकासका लक्ष्य प्राप्तिमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार