
दाङ : दाङको तुलसीपुर स्थित टरी गाउँ हरीपौरा खानेपानी उपभोक्ता समितिको तेस्रो साधारणसभा समितिका अध्यक्ष दिल्ली बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथि समेत रहेका तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले खानेपानी नागरिकको मौलिक अधिकार भएकाले यसको व्यवस्थापन गर्नु सरकारको दायित्व रहेको बताउनुभयो। उहाँले सबै नागरिकलाई स्वच्छ तथा सुरक्षित खानेपानी उपलब्ध गराउन स्थानीय सरकारले प्राथमिकता दिएको उल्लेख गर्नुभयो।
खानेपानी तथा सरसफाइ कार्यालयका प्रमुख प्रकाश जंग शाहले सरकारको नीति तथा बजेट अभावका कारण केही आयोजना अलपत्र परेको बताउनुभयो। उहाँले अधुरा योजनालाई सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थापन हुनुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका राष्ट्रिय साना सहरी खानेपानी महासंघ का केन्द्रीय अध्यक्ष खेमराज ओलीले उपभोक्ता संस्थामाथि सरकारले अन्यायपूर्ण रूपमा आयकर, विद्युत महसुल, ब्याजदर तथा जनसहभागिता सम्बन्धी नीतिहरू लागू गरेको आरोप लगाउनुभयो। उहाँले यस्ता नीतिले उपभोक्ता संस्थालाई सञ्चालन गर्न कठिनाइ भइरहेको र यसको लागि केन्द्र सरकारलाई उपभोक्ता विरोधी ऐन,कानुन संशोधनको माग गर्दै आएको बताउनुभयो।

साधारण सभामा खानेपानी तथा सरसफाइ उपभोक्ताहरुको बाक्लो उपस्थिति थियो।



116 पटक हेरिएको 

