
हेटौंडा : हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको १३औं वार्षिकोत्सव समारोह शुक्रबार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । बोर्डले आफ्नो १३ वर्षे संस्थागत यात्रा, सेवा विस्तार, पूर्वाधार विकास, आर्थिक प्रगति तथा आगामी योजना पारित गर्दै बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका नि.कार्यकारी निर्देशक बिष्णु प्रसाद सापकोटाले संस्थाको संक्षिप्त प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो। प्रतिवेदन अनुसार बोर्डले हाल हेटौंडा उपमहानगरपालिकाका १९ मध्ये १७ वटा वडामा खानेपानी सेवा विस्तार गरेको छ ।
करिब १ लाख ७० हजार नगरवासीलाई २९ हजार ७०९ धारामार्फत दैनिक ३ करोड ७५ लाख लिटर खानेपानी वितरण भइरहेको जानकारी दिइयो । मुख्य बजार क्षेत्रमा २४ सै घण्टा तथा अन्य क्षेत्रमा दैनिक ८ देखि ९ घण्टा खानेपानी वितरण हुँदै आएको बोर्डले जनाएको छ ।

बोर्डसँग हाल सतहगत एक मुहान, ४० वटा डिप ट्युबेल र १९ वटा समवेल सञ्चालनमा रहेका छन् । पानी भण्डारण क्षमता ८ हजार ९ सय ५२ घनमिटर पुगेको तथा करिब ८ सय किलोमिटर पाइपलाइन सञ्जाल विस्तार भइसकेको जानकारी दिइएको छ ।
वार्षिकोत्सव समारोहमा बोर्डले विगत वर्षहरूमा सम्पन्न गरेका महत्वपूर्ण पूर्वाधार योजनाबारे पनि जानकारी गराएको थियो । हेटौंडा–१५ सानो सुकौलीमा १ लाख लिटर क्षमताको पानी ट्यांकी निर्माण, वडा नं. १६ मा सार्वजनिक शौचालय निर्माण, शाखा कार्यालय स्तरोन्नति, आधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालन तथा विभिन्न क्षेत्रमा पाइपलाइन विस्तार गरिएको बोर्डले जनाएको छ ।
खानेपानी तथा ढल व्यवस्थापन कार्यालय र बोर्डको सहलगानीमा हेटौंडा–१६ शक्तिमा ६ वटा पानी संकलन ट्यांकी, समवेल तथा ३.५ किलोमिटर पाइपलाइन विस्तार गरिएको जानकारी दिइयो ।
त्यस्तै बागमती प्रदेश सरकारसँगको सहकार्यमा हेटौंडा–११ थानाभर्याङ–सिमलटार क्षेत्रमा ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्यांकी, दुई वटा समवेल तथा पूर्वाधार निर्माण सम्पन्न गरिएको बताइएको छ ।
७१ लाख ६८ हजार रुपैयाँ अग्रिम महशुल संकलन
कार्यक्रममा चालु आर्थिक वर्ष २०८२/०८३ को वैशाख मसान्तसम्मको आर्थिक अवस्था सार्वजनिक गर्दै बोर्डले पानी महशुलतर्फ १२ करोड १५ लाख रुपैयाँ बिलिङमध्ये ११ करोड ८७ लाख रुपैयाँ अर्थात ९७ दशमलव ७० प्रतिशत रकम संकलन गर्न सफल भएको जनाएको छ । बोर्डप्रति विश्वास गर्दै उपभोक्ताबाट ७१ लाख ६८ हजार रुपैयाँ अग्रिम महशुल जम्मा भएको पनि जानकारी दिइएको थियो ।

समग्र आयतर्फ २४ करोड ५ लाख ९७ हजार ५ सय रुपैयाँ विनियोजित बजेट मध्ये १४ करोड ६६ लाख ५४ हजार ६ सय ८८ रुपैयाँ संकलन भएको तथा व्ययतर्फ ११ करोड ७९ लाख ८५ हजार ६ सय १ रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामाले हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड स्थानीय तहमा समुदायमुखी खानेपानी व्यवस्थापनको सफल नमुना बनेको बताउनुभयो ।
नगरवासीलाई स्वच्छ र नियमित खानेपानी सेवा उपलब्ध गराउन बोर्डले खेलेको भूमिकाको प्रशंसा गर्दै उहाँले आगामी दिनमा समेत पूर्वाधार विस्तार र गुणस्तरीय सेवा प्रवाहमा नगरपालिकाको सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि बिष्णु गोपाल महर्जनले तीव्र शहरीकरणसँगै खानेपानी व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै दीर्घकालीन योजना र स्रोत संरक्षणमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रममा हरि हुमागाई, धुव्र अधिकारी तथा प्रमेश पराजुलीले शुभकामना मन्तव्य व्यक्त गर्दै बोर्डले खानेपानी व्यवस्थापन, विपद् व्यवस्थापन र सामाजिक उत्तरदायित्वका क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो ।
सो अवसरमा अनुशासन, कार्यसम्पादन, लगनशीलता तथा सेवा योगदानका आधारमा उत्कृष्ट कर्मचारीहरूलाई प्रशंसापत्र र नगद सहित सम्मान गरिएको थियो ।

सम्मानित हुने कर्मचारीहरु
नमुना पण्डित
अजय थिङ
दिपेन्द्र महत
पुष्पा पौडेल पाण्डे
समि श्रेष्ठ
गोविन्द बहादुर थपलिया
डिल बहादुर योन्जन
र तिलक बहादुर श्रेष्ठ

बोर्डका एवं समारोहका सभाध्यक्ष प्रताप बिष्टले धन्यवाद ज्ञापन गर्दै बोर्डको सफलतामा हेटौंडा उपमहानगरपालिका, उपभोक्ता समिति, सञ्चारकर्मी, राजनीतिक दल, सरोकारवाला निकाय तथा सम्पूर्ण कर्मचारीहरूको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो । आगामी दिनमा पनि स्वच्छ, सुरक्षित र नियमित खानेपानी सेवा उपलब्ध गराउँदै दिगो व्यवस्थापनतर्फ बोर्ड प्रतिबद्ध रहने उहाँको भनाइ थियो ।
कार्यक्रममा बोर्ड सदस्य डा। कृष्ण प्रसाद धितालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।



310 पटक हेरिएको 

