विद्युत अवरुद्ध हुँदा जिल्लामा खानेपानी अभाव

  वास खबर सम्बाददाता  163 पटक हेरिएको
🔗
12
Shares

प्युठान : विद्युत अवरुद्ध भएपछि जिल्लामा सञ्चालनमा रहेका लिफ्ट खानेपानी आयोजनाहरू बन्द भएका छन् । जसका कारण जिल्लाका अधिकांश स्थानमा खानेपानीको अभाव सिर्जना भएको छ । प्युठान सदरमुकाम खलङ्गामा सञ्चालनमा रहेका झिमरुक लिफ्ट खानेपानी आयोजना र मुलागैरा लिफ्ट खानेपानी आयोजना बन्द भएपछि पानीको अभाव भएको खलङ्गा खानेपानी आयोजना समितिका सचिव त्रिविक्रम श्रेष्ठले बताउनुभयो ।

“लिफ्ट खानेपानीबाट धेरै पानी आपूर्ति हुँदै आएको छ,” उहाँले भन्नुभयो, “अहिले विद्युत अवरुद्ध भएपछि लिफ्ट सञ्चालन हुन सकेको छैन ।” लिफ्ट बाहेकका तिनधारा, भुल्के, कोटपधेरा लगायतका खानेपानी योजनाबाट केही मात्रामा पानी वितरण हुँदै आएको उहाँको भनाइ छ ।

विद्युत अवरुद्ध हुँदा पानीका मोटर नचल्दा बजार क्षेत्रमा समेत खानेपानीको चरम अभाव भएको छ । प्युठान नगरपालिका–३ रातामाटाका राजकुमार रावतले विद्युत नहुँदा घरघरका इनारबाट पानी तान्न समस्या भएको बताउनुभयो ।

“धेरै घरमा इनारमा मोटर जडान गरिएका छन्,” उहाँले भन्नुभयो, “बत्ती नहुँदा पानी तान्न सकिएको छैन ।” पिउने पानीका लागि सार्वजनिक धारामा स्थानीयको भीड लाग्ने गरेको उहाँले बताउनुभयो ।

आइतबार राति झिमरुक जलविद्युत आयोजनाको पावरहाउसमा रहेको ट्रान्सफर्मर जलेपछि प्युठान, रोल्पा जिल्लाका सबै भूभाग तथा अर्घाखाँचीका केही भागमा विद्युत सेवा अवरुद्ध भएको खबर गोरखापत्र अनलाइनले प्रकाशन गरेको छ।

वैकल्पिक माध्यमबाट विद्युत सेवा सञ्चालनको प्रयास गरिए पनि मङ्गलबार साँझ करिब दुई घण्टा खलङ्गा र विजुवार क्षेत्रमा विद्युत सञ्चालन भए पनि पुनः सेवा अवरुद्ध भएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार