खानेपानीमा उपयोग हुने विद्युत महसुललाई ४८ लाख बढी अनुदान

  वास खबर सम्बाददाता  214 पटक हेरिएको
🔗
28
Shares

Photo: AI

स्याङ्जा : खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जाले खानेपानी योजनालाई झन्डै ४९ लाख रुपैयाँ विद्युत् महसुल अनुदान दिएको छ । लिफ्टिङ प्रविधिका खानेपानी योजनालाई विद्युत् महसुलबापत कार्यालयले ४८ लाख ५७ हजार ६ सय ५२ रुपैयाँ अनुदान दिएको हो । स्याङ्जा र कास्की जिल्लामा सञ्चालित खानेपानीका योजना हेर्दै आएको कार्यालयले चालू आर्थिक वर्ष २०८२र८३ को पहिलो ६ महिनाको अवधिलाई पुग्ने गरी रकम भुक्तानी गरेको छ ।

विद्युत् लाइनको सहयोगमा दुवै जिल्लामा सञ्चालित १०६ वटा भूमिगत तथा लिफ्टिङ प्रविधिका योजनालाई महसुल अनुदान रकम दिएको कार्यालयले जनाएको छ । स्याङ्जातर्फका ७४ वटा योजनालाई २६ लाख ५६ हजार १७ रुपैयाँ दिइएको छ भने कास्कीका ३२ योजनालाई २२ लाख एक हजार ६ सय ३५ रुपैयाँ अनुदान दिएको कार्यालय प्रमुख किरण पौडेलले जानकारी दिए । प्रदेश सरकारले लिफ्टिङ खानेपानी योजनामा लाग्ने विद्युत् महसुलमा सहुलियत दिने नीति लिएसँगै चालु वर्षको पहिलो ६ महिनाका लागि अनुदान दिएको प्रमुख पौडेलले जनाए ।

चालु वर्षको अन्तिम ६ महिनाका लागि थप झन्डै ६० लाख महसुल अनुदान रकम दिन सकिनेगरी व्यवस्थापन गरिएको कार्यालयले जनाएको छ । नागरिकलाई स्वच्छ, गुणस्तरीय र सुरक्षित खानेपानी सेवा उपलब्ध गराउने उद्देश्यले विद्युत् महसुलमा अनुदान कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ । नीतिअनुसार कार्यालयले मासिक २५ हजार रुपैयाँसम्म विद्युत् खपत गर्ने योजनालाई शतप्रतिशत अनुदान दिइएको छ ।

यस्तै, २५ हजारदेखि ३५ हजार रुपैयाँसम्म महसुल आउने योजनालाई ८० प्रतिशत, ३५ हजारदेखि ५० हजारको विद्युत् खपत गर्ने योजनालाई ६० प्रतिशत तथा ५० हजारदेखि ८० हजार रुपैयाँसम्म खपत गर्ने योजनालाई ३० प्रतिशत अनुदान उपलब्ध गराइएको छ । त्यस्तै, मासिक ८० हजार रुपैयाँभन्दा बढी विद्युत् महसुल तिर्ने योजनाले १० प्रतिशत अनुदान दिइने व्यवस्था गरिएको छ । अनुदानका लागि आवेदन दिएका योजनामध्ये मापदण्ड पूरा गरेका योजना छनोट गरी अनुदान रकम वितरण गरिएको खबर कारोबार दैनिकले प्रकाशन गरेको छ।

कार्यालयले गत वर्ष एक सय ६९ योजनालाई विद्युत् महसुलबापत एक करोड ३३ लाख ६४ हजार ६५६ रुपैयाँ भुक्तानी गरेको थियो । स्याङ्जाका १३३ योजनालाई ८६ लाख ७८ हजार ८४ रुपैयाँ अनुदान दिएको कार्यालयले कास्कीका ३६ योजनालाई ४६ लाख ८६ हजार ५७२ रुपैयाँ अनुदान दिएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार