राजपुरका ३९ विपन्न परिवारका घरमा खानेपानीकाे धारा

  वास खबर सम्बाददाता  162 पटक हेरिएको
🔗
9
Shares

तौलिहवा : वर्षौंदेखि खानेपानीको अभाव झेल्दै आएका कपिलवस्तु नगरपालिका–१ राजपुरका ३९ विपन्न परिवारका घरमा निःशुल्क खानेपानीकाे धारा जडान गरिएको छ ।

वडा कार्यालयको चार लाख रुपैयाँको लगानीमा घरघरमै धारा जडान भएपछि स्थानीयवासीमा खुसी छाएको छ । वडाले राजपुरका विपन्न तथा खानेपानी सुविधाबाट वञ्चित परिवारलाई लक्षित गरी उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

कपिलवस्तु नगरपालिका–१ का वडाध्यक्ष मोहम्द जाहिद खाँले वर्षौंदेखि देखिएको खानेपानी समस्यालाई मध्यनजर गर्दै निःशुल्क धारा जडान गरिएको बताउनुभयो । उहाँले स्थानीयवासीलाई आधारभूत सेवामा पहुँच दिलाउन कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यकता अनुसार यस्ता योजना अघि बढाइने जानकारी दिनुभयो ।

स्थानीय लीला पासीले विगत १५ वर्षदेखि खानेपानीको समस्या झेल्दै आएको बताउनुभयो । घरमा धारा नहुँदा टाढाबाट पानी ल्याउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उहाँले अहिले आफ्नै घरमा धारा जडान भएपछि दैनिक जीवन सहज बनेको बताउनुभयो ।

त्यस्तै स्थानीय किसलावती पासीले पनि धेरै वर्षदेखि खानेपानीको समस्या भोग्दै आएको सुनाउनुभयो । उहाँका अनुसार टोलका अधिकांश परिवारले एउटै सार्वजनिक धाराबाट पानी ल्याउनुपर्ने अवस्था थियो । त्यसका कारण पानी भर्न लामो समय कुर्नुपर्ने र बेला–बेलामा विवाद समेत हुने गरेको थियो । “अहिले घरमै धारा जडान भएपछि नुहाउन, लुगा धुन र घरायसी काम गर्न धेरै सहज भएको छ,” उहाँले भन्नुभयो ।

वर्षौंदेखिको खानेपानी समस्या समाधान भएपछि राजपुरका विपन्न परिवारमा खुसीको लहर छाएको खबर गोरखापत्रमा छापिएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार