पाइप जडानमा ढिलाइ हुँदा लहानमा खानेपानी अभाव

🔗
8
Shares

लहान : खानेपानीको पाइप जडान कार्यमा ढिलाइ हुँदा लहानका उपभोक्ता खानेपानी अभावको समस्यामा परेका छन्। फागुन महिनापछि हातेकलले पानी दिन छाडेपछि धाराको पानीमा निर्भर उपभोक्ताहरू समस्यामा परेका हुन्।

लहान नगरपालिका–१ का गोविन्द यादवले झण्डै डेढ महिनादेखि धारामा पानी आउन छाडेको बताउनुभयो। उहाँले भन्नुभयो, “खानेपानीको समस्या लिएर नेपाल खानेपानी संस्थानमा पटक–पटक गइसकेँ, तर अहिलेसम्म कुनै समाधान भएको छैन।”

यो समस्या गोविन्द यादवको मात्र नभई लहान–१ को नयाँ बसपार्कदेखि पडरियासम्मका करिब एक सय घरधुरीले भोगिरहेका छन्।

लहान नगरपालिका–८ का केही घरधुरीमा पनि यस्तै समस्या रहेको छ। धारा जडान भएपछि खानेपानीको समस्या अन्त्य हुने अपेक्षा गरेका स्थानीय अहिले निराश बनेका छन्। स्थानीय प्रविणकुमार महतोले भन्नुभयो, “एक–दुई दिनको समस्या त सहन सकिन्थ्यो, तर महिनौँसम्म पानी नआउँदा निकै कठिन भएको छ। कार्यालय धाउँदा–धाउँदै हैरान भइसक्यौँ, तर समस्या समाधान हुन सकेको छैन।”

लहान नगरपालिका–५ की अप्सना खातुनले हातेकलले पानी दिन छाडेपछि खानेपानी, नुहाउने तथा लुगा धुने कामका लागि छिमेकीको भर पर्नुपरेको बताउनुभयो।

उहाँले भन्नुभयो, “एक महिनासम्म जसोतसो छिमेकीको सहयोगमा काम चलायौँ। अहिले उहाँहरूलाई नै पानी पुग्न मुस्किल छ। धारा जडान गरिदिन बारम्बार आग्रह गर्दा पनि सुनुवाइ भएको छैन। खानेपानी अभावले दैनिक जीवन नै प्रभावित भएको छ।”

नेपाल खानेपानी संस्थान लहानका प्रमुख राकेश गोइतले कञ्चनपुर–कमला चार लेन सडक निर्माणअन्तर्गत पुराना पाइप मर्मत गर्न नसकिने भएपछि नयाँ पाइप जडान गर्ने सहमति भएको बताउनुभयो।

उहाँका अनुसार दिव्या कन्स्ट्रक्सन, लहान–३ ले ठेक्का लिए पनि काम समयमै अघि नबढ्दा समस्या उत्पन्न भएको हो। “ठेकेदार रमानन्द बरयैतसँग केही दिनदेखि सम्पर्क हुन सकेको छैन। त्यसैले काम प्रभावित भएको छ। समस्या छिट्टै समाधान गर्ने प्रयास भइरहेको छ,” उहाँले भन्नुभयो।

कञ्चनपुर–कमला पश्चिमी खण्डका निर्देशक उज्ज्वल श्रेष्ठले पाइप जडानको काम सात दिनभित्र सम्पन्न गर्ने लक्ष्य रहे पनि विभिन्न कारणले ढिलाइ भएको बताउनुभयो। उहाँले समस्या समाधानका लागि सरोकारवाला निकायसँग शीघ्र समन्वय गरिने जानकारी दिनुभयो।

साभार: जीवछ यादव/गोरखापत्र 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार