
काठमाडौं : विश्व वातावरण दिवस २०२६ को अवसरमा जलवायु उत्थानशीलता तथा दिगो जल व्यवस्थापन प्रवर्द्धन गर्ने उद्देश्यले एकीकृत सहरी विकास केन्द्र (CIUD) र CCBN को सहकार्यमा CCBN परिसरभित्र रहेको भूमिगत पानी पुनर्भरण (ग्राउन्डवाटर रिचार्ज) संरचनाको सरसफाइ तथा मर्मत सम्भार अभियान सञ्चालन गरिएको छ।
प्राकृतिक स्रोतमा आधारित समाधान (Nature-Based Solutions) मार्फत जलवायु परिवर्तनका चुनौतीहरूको सामना गर्ने सन्देशसहित आयोजित उक्त कार्यक्रममा विद्यमान भूमिगत पानी पुनर्भरण संरचनाको सफाइ, मर्मत तथा पुनः सञ्चालनयोग्य बनाउने कार्य गरिएको थियो।

अभियानले भूमिगत पानी पुनर्भरण प्रणालीलाई प्रभावकारी बनाउँदै भूमिगत जलस्रोतको पुनर्भरण, जल सुरक्षा सुदृढीकरण तथा वातावरणीय दिगोपनामा योगदान पुर्याउने अपेक्षा गरिएको छ। साथै, हरित पूर्वाधारहरूको नियमित संरक्षण तथा व्यवस्थापनको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने अवसरका रूपमा पनि कार्यक्रमलाई लिइएको आयोजकले जनाएको छ।

कार्यक्रमका सहभागीहरूले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न तथा जलस्रोत संरक्षणलाई प्रवर्द्धन गर्न प्रकृतिमा आधारित समाधानहरू प्रभावकारी माध्यम हुन सक्ने बताएका थिए। उनीहरूले विद्यमान संरचनाको संरक्षण, जिम्मेवार व्यवस्थापन तथा सामूहिक प्रयासमार्फत वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउन सकिनेमा जोड दिएका थिए।

विश्व वातावरण दिवसको सन्दर्भमा आयोजित यस अभियानले वातावरण संरक्षण व्यक्तिगत वा संस्थागत प्रयास मात्र नभई साझा जिम्मेवारी भएको सन्देश प्रवाह गरेको छ। आयोजकका अनुसार प्रकृतिप्रति आज गरिने जिम्मेवार व्यवहारले भविष्यका पुस्ताका लागि सुरक्षित जलस्रोत र स्वस्थ पर्यावरण सुनिश्चित गर्न मद्दत पुर्याउनेछ।
“आज प्रकृतिको संरक्षण, भोलिका लागि जलसुरक्षा” भन्ने सन्देशका साथ सम्पन्न उक्त अभियानले दिगो जल व्यवस्थापन र जलवायु उत्थानशील समाज निर्माणमा स्थानीय स्तरका प्रयासहरूको महत्वलाई पुनः उजागर गरेको छ।



157 पटक हेरिएको 

