
काठमाडौं : कर्णाली प्रदेशमा सुरक्षित खानेपानी प्राप्त गर्ने जनसंख्या ५ बर्षमा १८ प्रतिशत बिन्दुले बृद्धि भएको छ । नेपाल बहु-सूचक समूह सर्वेक्षण (Nepal Multiple Cluster Survey (NMICS) २०२५ को प्रतिवेदन अनुसार कर्णालीमा सुरक्षित खानेपानी सुविधा पुगेको जनसंख्या २१.९ प्रतिशत पुगेको छ । यद्यपि प्रदेशगत हिसाबले यो डाटा पनि सबैभन्दा कम हो ।
नेपाल बहुसूचक सर्भेक्षण २०१९ को प्रतिवेदन अनुसार ५ बर्ष अघि कर्णालीमा सुरक्षित खानेपानी प्राप्त गर्ने जनसंख्या ३.५ प्रतिशतमा सीमित थियो।
सर्भेक्षण गर्दा सुरक्षित खानेपानी भनेर सुधारिएको खानेपानीको स्रोत भएको, आफ्नै घरआँगनमा खानेपानीको धारा भएको, इकोली नभएको, जत्तिबेला चाह्यो, त्यत्ति बेलै प्राप्त गर्न सकिने अर्थात २४सै घण्टा पानीको उपलब्धता भएको र आर्सेनिकको मात्रा राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ ले तोकेको मापदण्ड 50ppb भन्दा कम भएको पानीलाई लिइएको थियो।
प्रतिवेदन अनुसार हाल नेपालमा ४७.३ प्रतिशत नागरिकमा सुरक्षित रुपमा व्यवस्थापन गरिएको पानीको पहुँच पुगेको छ । सरकारले हालै ल्याएको आगामी आर्थिक बर्षको बजेटमा आगामी ५ बर्षभित्र सबै नागरिकलाई सुरक्षित खानेपानी सेवा उपलब्ध गराउने घोषणा गरेको छ ।
NMICS सर्भेक्षण अनुसार कोशी प्रदेशमा सुरक्षित खानेपानी सेवा प्राप्त गर्ने जनसंख्या ३९ प्रतिशत, मधेश प्रदेशमा ६६ प्रतिशत र बागमतीमा ४७.८ प्रतिशत पुगेको छ । यस्तै गण्डकीका २८.२ प्रतिशत, लुम्बिनीका ५३.६ प्रशित र सुदुरपश्चिम प्रदेशमा ४३.६ प्रतिशत नागरिकमा सुरक्षित खानेपानीको पहुँच पुगेको छ ।


285 पटक हेरिएको 

