
काठमाडौं : सरसफाइमा पछाडि परेको मधेस प्रदेश सुरक्षित खानेपानीमा भने अग्र स्थानमा रहेको छ । नेपाल बहु-सूचक समूह सर्वेक्षण (Nepal Multiple Cluster Survey (NMICS) २०२५ को प्रतिवेदन अनुसार मधेश प्रदेशका ६६ प्रतिशत जनसंख्यामा सुरक्षित खानेपानीको पहुँच पुगेको छ । सुरक्षित खानेपानीको पहुँच पुगेको यो तथ्याङ्क सात वटै प्रदेशमा सबैभन्दा बढी हो ।
मधेस प्रदेश पछि लुम्बिनी प्रदेशमा ५३.६ प्रतिशत जनसंख्या सुरक्षित खानेपानीको पहुँचमा पुगेको प्रतिवेदनमा उल्लेख छ । बागमतीमा ४७.८ प्रतिशत, गण्डकीका २८.२ प्रतिशत र सुदुरपश्चिम प्रदेशमा ४३.६ प्रतिशत नागरिकमा सुरक्षित खानेपानीको पहुँच पुगेको छ ।
कर्णाली प्रदेशमा भने सुरक्षित खानेपानी प्राप्त गर्ने जनसंख्या सबैभन्दा कम छ । यद्यपि कर्णालीमा ५ बर्षमा १८ प्रतिशत बिन्दुले बृद्धि भएको छ । नेपाल बहु-सूचक समूह सर्वेक्षण (Nepal Multiple Cluster Survey (NMICS) २०२५ को प्रतिवेदन अनुसार कर्णालीमा सुरक्षित खानेपानी सुविधा पुगेको जनसंख्या २१.९ प्रतिशत पुगेको छ ।
नेपाल बहुसूचक सर्भेक्षण २०१९ को प्रतिवेदन अनुसार ५ बर्ष अघि कर्णालीमा सुरक्षित खानेपानी प्राप्त गर्ने जनसंख्या ३.५ प्रतिशतमा सीमित थियो।
सर्भेक्षण गर्दा सुरक्षित खानेपानी भनेर सुधारिएको खानेपानीको स्रोत भएको, आफ्नै घरआँगनमा खानेपानीको धारा भएको, इकोली नभएको, जत्तिबेला चाह्यो, त्यत्ति बेलै प्राप्त गर्न सकिने अर्थात २४सै घण्टा पानीको उपलब्धता भएको र आर्सेनिकको मात्रा राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ ले तोकेको मापदण्ड 50ppb भन्दा कम भएको पानीलाई लिइएको थियो।
प्रतिवेदन अनुसार हाल नेपालमा ४७.३ प्रतिशत नागरिकमा सुरक्षित रुपमा व्यवस्थापन गरिएको पानीको पहुँच पुगेको छ । सरकारले हालै ल्याएको आगामी आर्थिक बर्षको बजेटमा आगामी ५ बर्षभित्र सबै नागरिकलाई सुरक्षित खानेपानी सेवा उपलब्ध गराउने घोषणा गरेको छ ।


262 पटक हेरिएको 

