
मङ्गलबार दिउँसो धादिङको पारीपौवातर्फ जाने सडकमा दुई जना प्राविधिक कर्मचारी आफ्नो नियमित जिम्मेवारी पूरा गर्न हिँडिरहेका थिए। उनीहरूको उद्देश्य कुनै व्यक्तिगत काम थिएन, बरु निर्माणाधीन खानेपानी आयोजनाको स्थलगत निरीक्षण र सुपरीवेक्षण गर्नु थियो। तर केही मिनेटपछि उनीहरू आफैँ अस्पतालको शय्यामा पुग्नेछन् भन्ने कल्पना उनीहरूले गरेका थिएनन्।
खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, चितवन अन्तर्गत धादिङ शाखामा कार्यरत सब-इन्जिनियर सुरेश आले र सुपरभाइजर हबेन्द्र कुमार यादव त्यस दिन धादिङवेशी सहलगानी खानेपानी आयोजनाको निरीक्षण सकेर नीलकण्ठ नगरपालिका–४ स्थित इजरा खानेपानी आयोजनातर्फ जाँदै थिए। सरकारी मोटरसाइकलमा यात्रा गरिरहेका उनीहरू पारीपौवा पुगेका बेला अचानक एक व्यक्तिले मोटरसाइकल रोके।
प्रत्यक्षदर्शी विवरण र पीडित पक्षका अनुसार ती व्यक्तिले कुनै संवाद नगरी मोटरसाइकल चालक सुरेश आलेको टाउकोमा पछाडिबाट जोडदार मुक्का प्रहार गरे। अचानक भएको आक्रमणले मोटरसाइकल अनियन्त्रित भई सडकमा लड्यो। मोटरसाइकलसँगै दुवै कर्मचारी पनि भुइँमा पछारिए।
तर घटना त्यतिमै सीमित रहेन।
मोटरसाइकलबाट लडेका हबेन्द्र कुमार यादवमाथि आक्रमणकारी झनै आक्रामक बने। उनले यादवको मुख र टाउकोलाई निशाना बनाएर लगातार मुक्का प्रहार गर्न थाले। केही क्षणमै उनको अनुहार रगतले लतपतियो। त्यसपछि मात्र आक्रमणकारीले प्रश्न गरे, “अस्ति बनाएको बाटोमा किन मोटरसाइकल चलाएको ?”
आफूहरूलाई त्यस्तो कुनै जानकारी नभएको र गल्ती भए माफी दिन अनुरोध गर्दा पनि आक्रमण रोकिएन। बरु दोस्रो चरणको आक्रमण सुरु भयो। सुरेश आलेलाई लात्ताले हानेर टाढासम्म उछिट्याइयो भने यादवलाई एक हातले समातेर अर्को हातले मुख र टाउकोमा लगातार प्रहार गरियो। पीडित पक्षका अनुसार त्यो कुटपिट सामान्य झडप होइन, अमानवीय र निर्मम आक्रमण थियो।
घटनापछि स्थानीयवासी, जनप्रतिनिधि र प्रहरी घटनास्थलमा पुगे। सुरुमा आक्रमणकारीले आफूले कुटपिट नगरेको र उनीहरू मोटरसाइकलबाट लडेर घाइते भएको दाबी गरेका थिए। तर उनको हातमा लागेको रगत र घटनास्थलका विवरणले त्यस दाबीलाई टिक्न दिएन। अन्ततः उनले गल्ती स्वीकार गरेको बताइएको छ। तर केही समयपछि प्रहरीकै निगरानीमा कपडा फेर्न जान्छु भनेर अनुमति लिएका उनी मोबाइल बन्द गरी सम्पर्कविहीन बने।
घाइते हबेन्द्र कुमार यादवलाई तत्काल धादिङ अस्पताल पुर्याइयो। प्रारम्भिक परीक्षण र एक्सरेपछि उनको बङ्गारा नजिकको हड्डीमा गम्भीर चोट लागेको देखियो। स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि काठमाडौंस्थित बी एन्ड बी अस्पताल रिफर गरियो। मुक्का प्रहारका कारण उनको दाँतसमेत हल्लिएको बताइएको छ। अर्का घाइते सुरेश आले हेल्मेट लगाएका कारण तुलनात्मक रूपमा गम्भीर चोटबाट जोगिए पनि उनीमाथि पनि कुटपिट भएको थियो।
यस घटनाले एउटा प्रश्न उठाएको छ, विकास निर्माण र सार्वजनिक सेवा प्रवाहका लागि फिल्डमा खटिने कर्मचारीहरू कत्तिको सुरक्षित छन् ?
खानेपानी, सडक, सिंचाइ वा अन्य पूर्वाधार निर्माणका काममा संलग्न प्राविधिकहरू प्रायः दुर्गम बस्ती र निर्माणस्थलमा पुगेर निरीक्षण, मापन र सुपरीवेक्षण गर्नुपर्ने हुन्छ। उनीहरू सरकारका वार्षिक विकास लक्ष्य कार्यान्वयन गर्ने अग्रपंक्तिका जनशक्ति हुन्। तर उनीहरू नै असुरक्षित वातावरणमा काम गर्न बाध्य भए विकास आयोजनाहरूको प्रभावकारिता र कर्मचारीहरूको मनोबल दुवैमा नकारात्मक असर पर्न सक्छ।
धादिङको यो घटना दुई कर्मचारीमाथिको आक्रमण मात्र नभई सार्वजनिक सेवामा खटिएका प्राविधिकहरूको सुरक्षासँग जोडिएको गम्भीर विषय भएको खानेपानी तथा ढल व्यबस्थापन कार्यालय चितवनका प्रमुख शेखर चन्द्र केसीले बताउनु भयो। सरकारी जिम्मेवारी निर्वाह गरिरहेका कर्मचारीमाथि भएको यस्तो निर्घात कुटपिटको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीको माग गरिएको वहाँले बताउनुभयो।
′अन्यथा विकास निर्माणका काममा अग्रपंक्तिमा खटिने कर्मचारीहरूमा त्रास र असुरक्षाको भावना बढ्दै जाने निश्चित छ’ उहाँले भन्नुभयो।
सार्वजनिक सेवा प्रवाहको प्रभावकारिता बजेट र योजनाले मात्र निर्धारण गर्दैन, त्यसलाई कार्यान्वयन गर्ने जनशक्तिको सुरक्षा र सम्मानले पनि निर्धारण गर्ने भएकाले धादिङको यो घटनाले त्यही यथार्थलाई पुनः एकपटक उजागर गरेको छ।


993 पटक हेरिएको 

