
उदयपुर : उदयपुरमा महाभारत पहाडको माथिल्लो सतहमा अवस्थित पुराना पोखरी तथा आहाल पुरेर स्थानीयले विभिन्न संरचना निर्माण गरेपछि पहाडको तल्लो क्षेत्रमा रहेका पानीका प्राकृतिक मुहान सुक्न थालेका छन् ।
स्थानीय जलचव्रmलाई प्राकृतिक रूपले सन्तुलनमा राख्ने र पानी सङ्कलन गर्ने परापूर्वकालदेखि संरक्षण हँुदै आएका यस प्रकारका पुराना पोखरी स्थानीयले अतिव्रmमण गरी त्यसको अस्तित्व नै समाप्त पारेपछि पहाडी क्षेत्रका खानेपानीका मुहान धमाधम सुक्न थालेका हुन् ।
पानीले सदाबहार भरिभराउ हुने पोखरी पुरेर उक्त ठाउँमा स्थानीयले विद्यालय, स्वास्थ्य चौकी र सामुदायिक घरलगायतका कार्यालय भवन निर्माण गरेपछि जिल्लाको ताप्ली गाउँपालिका–३ स्थित झिल्के पोखरीको अस्तित्व मेटिएको छ । बाह्रैमास पानीले भरिभराउ हुने यो पोखरी पुरेर स्थानीयले सामुदायिक विद्यालयलगायतका संरचना निर्माण गरी सञ्चालनमा ल्याएका छन् ।
यसै गरी ताप्ली गाउँपालिका–४ स्थित पोखरीखर्कमा रहेको र सदाबहार पानीले भरिभराउ हुने निकै ठुलो बाहुन पोखरी अहिले मेटिएको छ । त्यहाँका स्थानीयले उक्त पोखरी पुरेर सामुदायिक विद्यालय र स्वास्थ्य चौकीलगायतका भौतिक संरचना निर्माण मात्र हैन विद्यार्थीका लागि खेल मैदानसमेत बनाएर पोखरीको अस्तित्व निमिट्यान्न पारिदिएका छन् ।
थामखर्कको देवीथान पोखरी, जतनपुरको सानी पोखरी, थुम्कीगाउँको आहालडाँडाको पोखरी, थुम्कीकै पिपलबोटे पोखरी, ठानागाउँको आहाले पोखरीलगायत उदयपुरको उच्च पहाडी क्षेत्रमा अवस्थित दर्जनभन्दा बढी पुराना पोखरीको अस्तित्व मेटिएको छ । पहाडको माथिल्लो भेगका पुराना पोखरीको अस्तित्व मासिएपछि पहाडको तल्लो भेगमा दर्जनौँको सङ्ख्यामा रहेका खानेपानीका मुहान सुक्न थालेको स्थानीय एवं जिल्ला समन्वय समिति उदयपुका उपप्रमुख तेजप्रसाद गिरीले बताउनुभयो ।
पहिलेका पुस्ताले गाउँवरपर वनक्षेत्र, डाँडाकाँडा तथा बस्तीनजिक पोखरी निर्माण गर्ने परम्पराको विकास गरेर बर्साैंदेखि स्थानीय पानी प्रणालीलाई सन्तुलित राख्ने गरेका भए पनि आजको पुस्ताले तिनै पुराना पोखरीको संरक्षण गर्न नसक्दा एकपछि अर्काे गर्दै पानीका मुहान सुक्न थालेको उहाँ बताउनुहुन्छ ।
थामखर्कको देवीथान पोखरी मासिएपछि त्यसभन्दा तलको धाप पँधेरो, थुम्कीको सिमलबोटे पँधेरो, जतनपुरको धारापानी पँधेरो, बास्पानीको कुवापानी, साउने पँधेरो, मिरिङ्चिङ्खोलाको सिमसार क्षेत्रको अस्तित्वसमेत सङ्कटमा परेको छ ।
यसै गरी पोखरीखर्कको बाहुन पोखरी पुरेपछि त्यसबाट ढुङ्गे, खोलागाउँ, खानडाँडा, पाखुरे क्षेत्रका सबै पँधेरा सुकेपछि हाल स्थानीयलाई खानेपानीको जटिल समस्या उत्पन्न भएको छ भने जतनपुरको सानी पोखरी, मासिनाले राजदह, आदमारा क्षेत्रका कैयाँै मुहान सुकिसकेको स्थानीय वासिन्दा पर्शुराम पोखरेलले बताउनुभयो ।
बृहत् जलाधार व्यवस्थापन केन्द्र कोशी उदयपुरका वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत शिवकुमार पोखरेलका अनुसार जलवायु परिवर्तनका कारण वर्षा प्रणाली पनि बदलिँदै गएकाले पहिले पहिलेको जस्तो लामो झरी नपर्ने तथा छोटो समयमा अत्यधिक वर्षा हुने र सबै पानी एकैछिनमा बगेर जाने हुँदा यस्तो अवस्थामा पानीलाई जमाएर सञ्चित गरी राख्ने पोखरी नहुँदा जमिनभित्र पानीको पुनर्भरण हुन पाउँदैन अनि मुहान सुक्दै जान्छन् ।
पोखरीको पुनर्निर्माण गर्न सकिएन भने पहाडी क्षेत्रमा खानेपानीका मुहान अझ धेरै सुक्दै जाने र पानीको सङ्कट थप चुलिँदै जान सक्ने, सिँचाइका लागि पानी अभाव हुने र कृषि उपज घट्ने, महिला र स्थानीय बासिन्दामा पानी सङ्कलनको भार बढ्ने, पानी अभावकै कारण बसाइँसराइ हुने तथा जैविक विविधतालगायत पारिस्थितिक प्रणाली नै प्रभावित हुन सक्ने अधिकृत पोखरेल बताउनुहुन्छ ।
परम्परागत पोखरीले स्थानीय जलचव्रmलाई सन्तुलन राख्न बर्सातको पानीलाई संरक्षण गर्न, भूमिगत पानीलाई पुनर्भरण गरी मुहानको बहाब कायम राख्न, सुक्खा मौसममा पशु र कृषि कार्यलाई सहयोग गर्न, जैविक विवधता संरक्षणमा मद्दत गर्न, स्थानीय तापक्रम र आर्द्रता कायम राख्न, आगलागी नियन्त्रण तथा विपत् व्यवस्थापनमा समेत उपयोगी हुने बृहत् जलाधार अधिकृत पोखरेलले बताउनुभयो । गोरखापत्रबाट साभार गरिएको।


198 पटक हेरिएको 

