बागचौरमा खानेपानी योजनाको दिगोपन र सुचारुपनबारे दुईदिने जल कचहरी

  वास खबर समाचारदाता  303 पटक हेरिएको
🔗
65
Shares

सल्यान : सल्यानको बागचौर नगरपालिका मा खानेपानी योजनाको दिगोपन, सुचारुपन तथा स्वच्छता प्रवर्द्धन गर्ने उद्देश्यले दुईदिने “जल कचहरी : पालिकास्तरीय उपभोक्ता समिति तथा मर्मतसम्भार कार्यकर्ताको दिगोपन र सुचारुपन सम्बन्धी कार्यशाला गोष्ठी” सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन सत्रमा नगर प्रमुख जनक राज गौतमले नगरपालिकाभित्रका सबै नागरिकको घरमा आगामी मंसिर मसान्तसम्म स्वच्छ, सफा र सुरक्षित खानेपानी सहज रूपमा पुर्‍याउने लक्ष्य रहेको बताउनुभयो। उहाँले खानेपानी योजनाहरूको प्रभावकारी सञ्चालन, नियमित मर्मतसम्भार तथा समुदायको सक्रिय सहभागिता मार्फत दिगो सेवा सुनिश्चित गर्न नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

पालिकाभित्र सञ्चालित खानेपानी योजनाहरूलाई दीगो, व्यवस्थित र स्वच्छ बनाउने उद्देश्यले आयोजना गरिएको उक्त गोष्ठीमा नगरपालिकाभित्र रहेका २२६ वटा खानेपानी योजनाका उपभोक्ता समितिका पदाधिकारी तथा मर्मतसम्भार कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा आयोजना सहयोग इकाई सुस्वा, सुर्खेत का प्रतिनिधिहरूले खानेपानी योजनाहरूलाई दीगो रूपमा सञ्चालन गर्ने उपाय, पानीको गुणस्तर संरक्षण, नियमित मर्मतसम्भार, सम्भावित समस्या न्यूनीकरण तथा समस्या उत्पन्न भएमा त्यसको प्रभावकारी समाधानका उपायबारे सहभागीहरूलाई जानकारी गराएका थिए।

दुई दिनसम्म सञ्चालन हुने गोष्ठीबाट खानेपानी योजनाको व्यवस्थापन क्षमता अभिवृद्धि हुनुका साथै सेवा प्रवाहलाई थप प्रभावकारी, स्वच्छ र दिगो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार