
प्युठान : सरुमारानी गाउँपालिका–४, धनकोटको ६३ घरमा खानेपानी धारा निर्माण भएको छ । सरुमारानी गाउँपालिका र नेवा संस्थाको साझेदारीमा डुम्री खोला धनकोट खानेपानी आयोजना सम्पन्न भएपछि एक घर एक धारा निर्माण गरिएको हो।
नेवाको १३ लाख २६ हजार ३४१ रुपियाँ, गाउँपालिकाको आठ लाख ३४ हजार ७०१ रुपियाँ र उपभोक्ता समितिको श्रमदान आठ लाख ७५ हजार ५४३ रुपियाँ लगानी रहेको उपभोक्ता समितिका सचिव हीरासिंह रानामगरले जानकारी दिनुभयो । निर्माण सम्पन्न भएपछि स्थानीय घरमै पानीको सुविधा पुग्दा खुसी भएको उहाँले बताउनुभयो ।
निर्माण सम्पन्न भएपश्चात आयोजनाको सामाजिक परीक्षण गरिएको सचिव रानामगरले जानकारी दिनुभयो । गाउँपालिकाले पालिकामा खानेपानी सुविधा पुर्याउन नेवासँग साझेदारी गरी विभिन्न खानेपानी आयोजना निर्माण अघि बढाएको गाउँपालिकाका प्रवक्ता चिन्तबहादुर सोमै मगरले बताउनुभयो ।
सरुमारानी गाउँपालिका–३ स्थित दुमही खानेपानी तथा सरसफाइ आयोजना र वडा नम्बर ६ स्थित चप्ली खोला खानेपानी तथा सरसफाइ आयोजना निर्माण अघि बढेको प्रवक्ता सोमै मगरले बताउनुभयो ।
दुमही ३३ घरमा धारा पुग्नेगरी ३२ लाख ५२ हजार १९३ रुपियाँको लागतमा दुमही खानेपानी तथा सरसफाइ आयोजना र ९९ घरमा धारा पुग्ने गरी ९१ लाख ३८ हजार १७५ रुपियाँको लागतमा चप्ली खोला खानेपानी तथा सरसफाइ आयोजना निर्माण गर्न लागिएको हो ।


130 पटक हेरिएको 

