
हेटौंडा : देशका धेरै शहरमा सुख्खा यामसँगै खानेपानीको समस्या देखिने गरे पनि हेटौंडा उपमहानगरपालिका क्षेत्रमा भने यस वर्ष पनि खानेपानी अभाव छैन।
हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले सेवा विस्तार गरेका क्षेत्रमा नियमित रूपमा खानेपानी वितरण भइरहेको छ। हावाहुरीका कारण विद्युत आपूर्ति अवरुद्ध हुँदा पम्पिङ प्रणालीमा आधारित केही स्थानमा अल्पकालीन समस्या देखिए पनि समग्र नगर क्षेत्रमा खानेपानी आपूर्ति सहज रहेको बोर्डले जनाएको छ।
हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टका अनुसार तीव्र शहरीकरण र जनसंख्या वृद्धि भइरहेका बेला पनि दीर्घकालीन योजना, स्रोत व्यवस्थापन तथा पूर्वाधार विस्तारका कारण नगरवासीले खानेपानी अभावको समस्या भोग्नुपरेको छैन।
“नेपालका धेरै शहरमा सुख्खा मौसममा पानीको हाहाकार हुने अवस्था छ, तर हेटौंडामा स्रोत संरक्षण, पूर्वाधार विस्तार र व्यवस्थापनका कारण नियमित सेवा दिन सफल भएका छौं,” अध्यक्ष विष्टले बताए।
बोर्डका सूचना अधिकारी सञ्जय न्यौपानेका अनुसार हाल हेटौंडा उपमहानगरपालिकाका १९ वडामध्ये वडा नम्बर १२ र १३ बाहेक १७ वटा वडामा बसोबास गर्ने करिब १ लाख ७० हजार नागरिकलाई नियमित खानेपानी सेवा उपलब्ध गराइँदै आएको छ।
“हाल बोर्डअन्तर्गत २९ हजार ८०२ वटा धारा सञ्चालनमा छन्। दैनिक सरदर ३ करोड ७५ लाख लिटर खानेपानी उत्पादन तथा वितरण भइरहेको छ,” न्यौपानेले भने, “मुख्य बजार क्षेत्रमा २४ सै घण्टा तथा अन्य क्षेत्रमा सरदर ८ देखि ९ घण्टासम्म पानी वितरण गरिँदै आएको छ।”
बोर्डका अध्यक्ष विष्टका अनुसार हाल खानेपानीको मुख्य स्रोतमा एक सतहगत मुहान, ४० वटा डिप ट्युबवेल र १९ वटा समवेल रहेका छन्। पानी भण्डारण क्षमता ८ हजार ९५२ घनमिटर रहेको छ भने करिब ८०० किलोमिटर लम्बाइको मुख्य तथा शाखा पाइपलाइनमार्फत वितरण प्रणाली सञ्चालन भइरहेको छ।
सेवा प्रवाहलाई प्रभावकारी बनाउन बोर्डले डिजिटल बिलिङ प्रणाली, मिटर व्यवस्थापन तथा उपभोक्ता गुनासो सुनुवाइ प्रणालीलाई थप आधुनिक बनाउने प्रक्रिया अघि बढाएको छ। विपद्, बाढीपहिरो तथा खानेपानी अभावका समयमा वैकल्पिक वितरण प्रणालीमार्फत सेवा प्रदान गर्दै सामाजिक उत्तरदायित्वसमेत निर्वाह गर्दै आएको बोर्डको भनाइ छ।
चालु आर्थिक वर्षमा हेटौंडा–१५ सानो सुकौलीमा एक लाख लिटर क्षमताको पानी ट्यांकी निर्माण, वडा नम्बर १६ मा सार्वजनिक शौचालय निर्माण, शाखा कार्यालय स्तरोन्नति तथा विभिन्न भवन र पर्खाल निर्माण तथा मर्मत कार्य सम्पन्न गरिएको छ। यसैगरी आवश्यक विभिन्न क्षमताका मोटर पम्प खरिद गरिएको बोर्डले जनाएको छ।
बोर्ड परिसरमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको सहकार्यमा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याइएको छ। साथै हेटौंडा–१६ शक्तिमा ९ सय घनमिटर क्षमताका ६ वटा संकलन ट्यांकी, समवेल तथा करिब ३।५ किलोमिटर पाइपलाइन विस्तारको काम सम्पन्न भएको छ।
त्यसैगरी बागमती प्रदेश सरकारको सहलगानीमा हेटौंडा–११ थानाभर्याङ–सिमलटार क्षेत्रमा दुई वटा समवेल, पालेघर तथा ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड पानी ट्यांकी निर्माण सम्पन्न गरिएको छ। हरिकुञ्ज पानी पोखरी जाने सडक स्तरोन्नतिको काम पनि पूरा भएको बोर्डले जनाएको छ।
हाल विभिन्न स्थानमा खानेपानी पूर्वाधार निर्माण तथा मर्मत कार्य जारी रहेको छ। विभिन्न साइजका एचडीपीई पाइप खरिद प्रक्रिया अघि बढाइएको छ भने संघीय सरकार, हेटौंडा उपमहानगरपालिका र बोर्डको सहलगानीमा ठूला खानेपानी आयोजना कार्यान्वयन भइरहेका छन्।
क्रमागत योजनाअन्तर्गत हेटौंडा–९ बेतखोल्ची डाँडामा ६ लाख लिटर क्षमताको पानी ट्यांकी निर्माण, हेटौंडा–१४ मा डिप ट्युबवेल तथा २ लाख लिटर क्षमताको ट्यांकी निर्माण, हेटौंडा–१५ मा ३ लाख लिटर क्षमताको ट्यांकी निर्माण, पाइपलाइन विस्तार तथा विद्युतीकरणका काम अघि बढिरहेका छन्।
यसैगरी बेतखोल्ची डाँडादेखि स्मृति चोकसम्म मुख्य पाइपलाइन विस्तार, रोटरी पम्प हाउसदेखि पिस पार्कसम्म करिब ४ किलोमिटर डिआई पाइपलाइन विस्तार तथा बुङ्दल मुहानदेखि सामरी पुलसम्म इन्टेक निर्माणसहित पाइपलाइन सुधार कार्य पनि सञ्चालनमा रहेको बोर्डले जनाएको छ।
अध्यक्ष विष्टका अनुसार बोर्डले स्थायी, सुरक्षित र गुणस्तरीय खानेपानी सेवा सुनिश्चित गर्न दीर्घकालीन योजना अनुरूप पूर्वाधार विस्तारलाई निरन्तरता दिएको छ। जनपत्रबाट


153 पटक हेरिएको 

