
काठमाडौँ : खानेपानी उद्योगले पिउने पानीको बोतल तथा जारको लेबलिङ र गुणस्तर नियमन सम्बन्धी तोकेको नयाँ मापदण्ड अनुसार पानीको बोतल वा जारमा ‘इम्बोस्डिङ स्क्रिन पृन्ट’ वा ‘लेजर प्रिन्ट’ गर्ने काम लगभग पूरा गरेको जनाएका छन् ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत चैतमा बोतल तथा जारको लेबलिङ र गुणस्तर नियमनसम्बन्धी नयाँ मापदण्ड कार्यान्वयनमा दिएको निर्देशन अनुसार उद्योगीले पानीको बोतल वा जारमा त्यस्तो प्रिन्ट गरेर बजारमा पठाउन थालेका हुन् ।
विभागका अनुसार पिउने पानीको गुणस्तर सुनिश्चित गर्न र वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यले गत चैत ३० गते विभागले जारी गरेको नयाँ मापदण्ड उद्योगीले कार्यान्वयन गरेका हुन् ।
नेपाल पानी उद्योग महासङ्घका अध्यक्ष विक्रमबाबु लिम्बूले खानेपानीका जार अधिकांश उपभोक्ताको घर घरमा रहने भएकाले केहीमा प्रिन्ट हुन बाँकी रहेको हुन सक्ने अनुमान गर्नुभयो । यसअघि बोतलमा ‘नेकसिल’ प्रयोग हुँदै आएको थियो ।
प्लास्टिकको अनावश्यक प्रयोग घटाएर वातावरणमा पर्ने नकारात्मक प्रभावलाई कम गर्ने यो सरकारको कदमले उद्योगलाई पनि केही राहत भएकाले सबै उद्योगबाट सहयोग भएको उहाँले जानकारी दिनुभयो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वातावरण विभाग र पानी उद्योगीका छाता सङ्गठनको समन्वयमा खानेपानीको बोतलमा ‘नेकसिल’ वा बाह्य प्लास्टिक लेयर प्रयोग गर्न पूर्ण रूपमा निषेध गर्ने निर्णय गर्ने सहमति अनुसार यो कार्य सुरु गरिएको महासङ्घले छ ।
विभागका अनुसार जारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट प्राप्त अनुज्ञापत्र नम्बर, उत्पादक कम्पनीको नाम, ठेगाना र सबै विवरण समेटिएको लोगो हुनुपर्ने खबर गोरखापत्रले प्रकाशन गरेको छ।


133 पटक हेरिएको 

