कालीकोटमा खानेपानी बितरणमा पनि विभेद

  वास खबर सम्बाददाता  316 पटक हेरिएको
🔗
59
Shares

कालिकोट : अति नै अपरिहार्य खानेपानी जस्तो संवेदनशील कुरामा पनि धनी र गरिबबिच विभेद गरिन्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ तर आवाजविहीन सर्वसाधारणले आफ्नो पहुँच नहुँदा पानीको हाहाकारमा नै जीवनयापन गर्नु परिरहेको अवस्था छ ।

नेपालका सहरी तथा ग्रामीण क्षेत्रमा खानेपानीको समस्या नौलो होइन तर उपलब्ध पानीको वितरणमा हुने चरम विभेद र लापर्बाहीले सर्वसाधारण मारमा पर्दै आएका छन् । एकातिर पहुँचवाला, नेता र स्थानीय टाठाबाठाको घरमा चौबिसै घण्टा पानी आउने, अर्कोतिर न्यून आय भएका र आवाजविहीन सर्वसाधारण भने थोपा थोपा पानीका लागि जहिले पनि काकाकुल भएर बस्नुपर्ने अवस्था छ ।

यस्तै मारमा कालीकोट सदरमुकाम मान्मका सर्वसाधारण परेका छन् । जिल्लाको पश्चिम बजार र कारागार क्षेत्रका लागि प्रहरीको गण रहेको पानी ट्याङ्कीमा ३६ एमएमको पाइपमा मुहानबाट पानी झार्ने गरिएको छ । त्यो पानीले उपभोक्तालाई सधँै अपुग थियो । कर्मचारी र वडाध्यक्ष धर्मराज शाहीको मिलेमतोमा उक्त पानी राजनीति दलका कार्यालय, राम्रो बजेट भएका सरकारी कार्यालयमा मूल पाइपबाटै सिधै पानी वितरण गरिएको छ ।

केही महिनाअघि सबैलाई बराबर पानी दिने भन्दै मिटर जडान गर्न लगाइयो । थोरै भए पनि सबैले पानी पिउन पाएका थिए तर बिचैमा खानेपानी वितरणको जिम्मा पाएको वडा नं. १ का अध्यक्ष र कर्मचारीकै मिलेमतोमा पहुँचवाला कर्मचारी र जनिप्रतिनिधिकै घरमा पानी सधैँ बग्ने गरी वितरण गरेपछि सर्वसाधारण खानेपानीको अभावमा छटपटिरहेका छन् ।

एउटै मुख्य वितरण लाइनबाट धेरै पाइप र मिटर जथाभाबी जोडिएका छन् । प्राविधिक रूपमा उचित व्यवस्थापन नगरिएका यस्ता वितरण प्रणालीका कारण पहुँच नभएकाको घरमा धारा सधैं सुक्खा  छ । मिटर जडित धारामा पनि पहुँचवालाको लाइनमा पानी निकास हुने प्वाल फराकिला पारेका छन् भने सर्वसाधारणको लाइनमा चार इन्चबराबरको प्वाल पारेर पानी नै नजाने बनाइएको छ ।

पानी वितरणमा सधैँ बेथिति र विभेद

​स्थानीय उपभोक्ता रत्नबहादुर कार्कीका अनुसार खानेपानी समिति वा उपभोक्ता समितिले पहुँचका आधारमा पानी वितरण गर्ने गरेका छन् । ​पहुँचवाला राजनीतिक आड वा आर्थिक प्रभाव भएका व्यक्तिले मुख्य लाइनबाट सिधै ठुला पाइप जोडेर वा चोर बाटोबाट पानी आफ्नो घरमा लैजाने गरेका छन् ।

घरमा गाडी धुने र बगैँचा सफा गर्नेसम्मका लागि पानी प्रयोग गरिरहेका हुन्छन् । सर्वसाधारण भने हप्तामा एक पटक आउने पानीको प्रतीक्षामा रातभर जाग्राम बस्न बाध्य छन् । कतिपय अवस्थामा महसुल बुझाउँदा बुझाउँदै पनि महिनौँसम्म धारामा पानी आउँदैन । स्थानीय निर्मला पाण्डे पहुँचवालाको घरमा सिधै पाइपबाट पानी जाने व्यवस्था गरिएकोले पानीको समस्याबाट सर्वसाधारण नै पीडित भएको बताउनुहुन्छ ।

हामी सामान्य जनताको घरको धारामा पानी नआएको महिना दिन भइसक्यो तर छिमेकी नेताज्यूको घरमा भने चौबिसै घण्टा पानी बगिरहन्छ । हारगुहार गर्दा पनि कसैले सुन्दैन । पानीमा पनि धनी र गरिबबिचको विभेद देखियो । उहाँको गुनासो थियो । गोरखापत्रबाट साभार।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार