शंख पार्कमा छत्रेश्वरी गाउँपालिकाको पानी सम्मेलन

  वास खबर सम्बाददाता  139 पटक हेरिएको
🔗
14
Shares

सल्यान : खानेपानी तथा सरसफाइ योजनाको दिगोपना, गुणस्तरीय सेवा तथा उपभोक्ता समितिको संस्थागत सुदृढीकरण गर्ने उद्देश्यले सल्यानको छत्रेश्वरी गाउँपालिकामा पानी सम्मेलन हुने भएको छ ।

यही असार १४ गते (आइतबार) प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र शंखमूलको शंख पार्कमा पानी सम्मेलन हुन लागेको हो । गाउँपालिका अन्तर्गत सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना (सुस्वा) को आयोजनामा हुन लागेको सम्मेलनले पालिकाभित्र सञ्चालित सबै खानेपानी तथा सरसफाइ योजनालाई व्यवस्थित, दिगो र प्रभावकारी बनाउने लक्ष्य राखेको प्रमुख प्रशासकीय अधिकृत दीपक बुढाथोकीले जानकारी दिनुभयो ।

सम्मेलनमा पालिकाभित्र रहेका सबै खानेपानी उपभोक्ता समितिको दर्ता, नवीकरण, योजनाको मर्मत सम्भार तथा योजनाको दिगोपना सम्बन्धी साझा प्रतिबद्धता सहित सम्झौता समेत गरिने  गाउँपालिकाका वास संयोजक दिपेन्द्र शाहीले जानकारी दिनुभयो ।

यसबाट खानेपानी योजनाको नियमित सञ्चालन, संरक्षण तथा व्यवस्थापनमा पालिका र उपभोक्ता समिति बीचको समन्वय थप प्रभावकारी हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा पालिकाभित्र रहेका खानेपानी योजनाको वर्तमान अवस्था, सुरक्षित खानेपानीको उपलब्धता, पानी सुदृढीकरणका उपाय, सेवा प्रवाहका चुनौती तथा दीर्घकालीन व्यवस्थापनका विषयमा विशेषज्ञ, प्राविधिक र सरोकारवाला बीच प्यानल छलफल समेत गरिनेछ ।

छलफलबाट प्राप्त सुझावका आधारमा आगामी कार्ययोजना तयार गरिने र सबै पक्षको सामूहिक प्रतिवद्धता सहित सम्मेलन सम्पन्न गरिने वास संयोजक शाहीले बताउनुभयो ।

गाउँपालिकाले पानी सम्मेलनलाई खानेपानी क्षेत्रको समस्या पहिचान गर्ने, समाधानका साझा उपाय खोज्ने र स्थानीय तह तथा उपभोक्ता समिति बीच सहकार्यलाई प्रभावकारी बनाउने अवसरको रुपमा लिइएको जनाएको छ।

सम्मेलनमा पालिकाभित्र रहेका सम्पूर्ण खानेपानी तथा सरसफाई उपभोक्ता समितिका प्रतिनिधि, जनप्रतिनिधि, कर्मचारी तथा खानेपानी तथा सरसफाइसँग सम्बन्धित सरोकारवाला निकायहरूको सहभागिता रहनेछ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार