
जाजरकोट : जाजरकोट जिल्लाको नलगाड नगरपालिका–८, कायाखेतमा इनलाइन क्लोरिनेसन सहितको खानेपानी आयोजना निर्माण सम्पन्न गरी सेवा सञ्चालनमा ल्याईएएको छ । आयोजना सम्पन्न भएसँगै कायाखेतलाई ‘पूर्ण सरसफाइ उन्मुख समुदाय’ समेत घोषणा गरिएको छ।
सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (सुस्वा) आयोजनाको आर्थिक तथा प्राविधिक सहयोग तथा नलगाड नगरपालिकाको समन्वयमा आयोजना सम्पन्न भएको हो।

लामो समयदेखि सुरक्षित र गुणस्तरीय खानेपानीको पहुँचबाट वञ्चित कायाखेतका बासिन्दाले अब घरघरमै इनलाइन क्लोरिनेसन प्रणाली मार्फत राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड अनुसारको सुरक्षित खानेपानी प्राप्त गर्न थालेका छन्। साथै आफ्नो बस्ती पूर्ण सरसफाइ उन्मुख समुदायका रूपमा घोषणा भएपछि स्थानीयवासी उत्साहित भएका सुस्वाका वास सहजकर्ता गणेश शर्मा ढकालले बताउनुभयो। यस उपलब्धिले समुदायको स्वास्थ्य, सरसफाइ तथा समग्र जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने उहाँले बताउनुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै सुस्वा आयोजनाका वास सल्लाहकार प्रमोदलाल श्रेष्ठले निर्माण भएका पूर्वाधारको दिगोपन सुनिश्चित गर्न उपभोक्ता समितिको भूमिका अत्यन्त महत्वपूर्ण रहने बताउनुभयो। उहाँले पूर्ण सरसफाइका सूचकहरूको निरन्तर पालना, नियमित खानेपानी महसुल संकलन, ग्रामीण मर्मत सम्भार कार्यकर्ताको प्रभावकारी परिचालन तथा खानेपानी प्रणालीको नियमित सञ्चालन र मर्मत सम्भारमा विशेष ध्यान दिन आग्रह गर्नुभयो।
स्थानीय सरकार, सुस्वा आयोजना र समुदाय बीचको सहकार्यबाट सम्पन्न भएको आयोजनाको दिगोपनाका लागि ग्रामीण मर्मत सम्भार कार्यकर्ताको व्यवस्था, मर्मत सम्भार कोषको व्यवस्था र उपभोक्ता समितिलाई निर्माण अघि र निर्माण सम्पन्न पश्चातको तालिम समेत दिईएको छ ।
आयोजना उदघाटन तथा पूर्ण सरसफाइ उन्मुख समुदाय घोषणा कार्यक्रमका अवसरमा खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने स्थानीय समुदाय, खानेपानी उपभोक्ता समिति तथा अभियानमा सक्रिय विभिन्न कार्यदललाई नगद पुरस्कार र प्रशंसापत्र समेत प्रदान गरिएको थियो।

कार्यक्रममा नलगाड नगरपालिकाका नगर प्रमुख, नगर उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको विशेष उपस्थिति रहेको थियो। त्यसैगरी, सुस्वा आयोजनाका वास सल्लाहकार प्रमोदलाल श्रेष्ठ, वास सपोर्ट अफिसर, नगरपालिकाको वास इकाइका कर्मचारीहरू तथा विभिन्न विकास साझेदार संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
स्थानीय सरकारको प्रतिबद्धता जनाउँदै नलगाड नगरपालिकाका वडा नं. १ देखि १३ सम्मका सबै वडा अध्यक्षहरू कार्यक्रममा सहभागी भएका थिए। कार्यक्रममा सरोकारवाला निकाय, सञ्चारकर्मी, खानेपानी उपभोक्ता समितिका पदाधिकारी तथा स्थानीय उपभोक्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

फोटोहरु :गणेश शर्मा ढकाल/सुस्वा


236 पटक हेरिएको 

